हामी जीवनको लगभग एकतिहाइ भाग निद्रामा बिताउँछौँ, यद्यपि कोहीकोहीले निद्रालाई समयको बर्बादी पनि मान्छन् । निद्रालाई निष्क्रिय रूपमा हेरिनुहुँदैन । यो एक सक्रिय र आवश्यक प्रक्रिया हो, जसले शरीरलाई फुर्तिलो र मस्तिष्कलाई ताजकी राख्छ । जब निद्रा बिथोलिन्छ, मस्तिष्कमा सूक्ष्म असर देखिन्छ । एउटा नयाँ अध्ययनमा मेरा सहकर्मी र मैले ४० देखि ७० वर्ष उमेरका २७ हजारभन्दा बढी बेलायती वयस्कमा निद्रा व्यवहार र विस्तृत मस्तिष्क एमआरआई स्क्यान डेटाको जाँच गर्यौँ । कम निद्रा भएका मानिसको दिमाग उनीहरूको वास्तविक उमेरको आधारमा अपेक्षा गरिएभन्दा उल्लेखनीय रूपमा बुढो देखिएको हामीले पायौँ ।
मस्तिष्क ‘बुढो देखिनु’ को अर्थ के हो ? हामी सबै एउटै गतिमा निरन्तर बुढो हुँदै जान्छौँ, तर केही मानिसको जैविक घडी भने अन्यको तुलनामा छिटो वा ढिलो हुन सक्छ । मस्तिष्क इमेजिङ र कृत्रिम बुद्धिमत्तामा नयाँ प्रगतिले अनुसन्धानकर्तालाई मस्तिष्कको तन्तुको क्षति, कोर्टेक्स पातलो हुने अवस्था र रक्तनलीमा क्षतिजस्ता विषयमा सहजै बुझ्न सहयोग गर्छ । त्यस्तै, एमआरआई स्क्यानको ढाँचाका आधारमा व्यक्तिको मस्तिष्कको उमेर अनुमान गर्न सकिन्छ । हाम्रो अध्ययनमा एमआरआई स्क्यानबाट एक हजारभन्दा बढी फरक इमेजिङ मार्कर प्रयोग गरेर मस्तिष्कको उमेर अनुमान गरिएको थियो । हामीले पहिले स्वस्थ सहभागीको स्क्यानमा मेसिन लर्निङ मोडेललाई तालिम दियौँ । उनीहरू कुनै प्रमुख रोग नभएका व्यक्ति थिए, जसको मस्तिष्क उनीहरूको वास्तविक उमेरसँग मिल्नुपर्छ । एकपटक मोडेलले सामान्य बुढ्यौली कस्तो देखिन्छ भनेर सिकेपछि हामीले यसलाई अध्ययनका लागि तय गरिएको सबै जनसंख्यामा लागू गर्यौँ ।
तपाईंको वास्तविक उमेरभन्दा बुढो मस्तिष्क स्वस्थ बुढ्यौलीको अन्त्यको संकेत हुन सक्छ । अघिल्लो अनुसन्धानले वृद्ध देखिने मस्तिष्कलाई छिटो संज्ञानात्मक गिरावट, डिमेन्सियाको बढी जोखिम र प्रारम्भिक मृत्युको उच्च जोखिमसँग जोडेको छ । निद्रा जटिल छ र कुनै पनि एकल मापनले व्यक्तिको स्वस्थ निद्राको सम्पूर्ण विवरण भन्न सक्दैन । तसर्थ, हाम्रो अध्ययन सहभागी आफैँले रिपोर्ट गरेका निद्राका पाँच पक्षमा केन्द्रित छ– तिनीहरू सुत्ने समय (बिहान वा साँझ), सामान्यतया कति घण्टा सुत्छन् (सातदेखि आठ घण्टा उपर्युक्त मानिन्छ), अनिद्रा अनुभव गर्छन् कि गर्दैनन् ?, घुर्छन् कि घुर्दैनन् र तिनीहरूले दिनमा अत्यधिक निद्रा महसुस गर्छन् कि गर्दैनन् ?
यी विशेषतालाई आधार मानेर सामूहिक अन्तरक्रिया गरिएको थियो । ‘स्वस्थ निद्रा स्कोर’मा सबै पाँच विशेषतालाई एकीकृत गरेर हामीले समग्र निद्रासम्बन्धी स्वास्थ्यको पूर्ण तस्बिर खिच्यौँ । चार वा पाँच स्वस्थ विशेषता भएका व्यक्तिमा ‘स्वस्थ’ निद्रा लाग्ने गरेको भेट्यौँ भने दुईदेखि तीन विशेषता भएकामा मध्यम निद्रा देखियो । त्यस्तै, शून्य वा एक विशेषता भएकामा निद्राको खराब अवस्था देखियो ।
जब हामीले विभिन्न निद्राको विवरणलाई मस्तिष्कको उमेरसँग तुलना गर्यौँ, भिन्नता प्रस्ट थिए । औसतमा, कमजोर निद्रा भएका मानिसको दिमाग उनीहरूको वास्तविक उमेरको आधारमा अपेक्षा गरिएभन्दा लगभग एक वर्ष पुरानो देखिन्थ्यो, जबकि स्वस्थ निद्रा भएकाहरूमा त्यस्तो कुनै अन्तर देखिएन । हामीले पाँच निद्रा विशेषतालाई व्यक्तिगत रूपमा पनि विचार गर्याैँ– ढिलो सुत्ने र असामान्य निद्रा अवधि मस्तिष्क बुढो हुनुको प्रमुख कारक पायौँ । एक वर्ष धेरैजस्तो नलाग्न सक्छ, तर मस्तिष्क स्वास्थ्यको सन्दर्भमा यो महत्वपूर्ण छ । मस्तिष्कको उमेरका सवालमा सानो गति पनि समयसँगै बढ्न सक्छ र यसले सम्भावित रूपमा संज्ञानात्मक कमजोरी, डिमेन्सिया र अन्य स्नायु रोगहरूको जोखिम बढाउँछ ।
अध्ययनको सुखद खबर यो हो कि निदाउने बानी परिमार्जन गर्न सकिन्छ । सबै निद्रा समस्या सजिलै समाधान हुँदैनन् । तर, सरल उपाय जस्तै– नियमित निद्रा तालिका बनाउने, सुत्नुअघि कफीजन्य पदार्थ, मदिरा र मोबाइल वा कम्पयुटरको प्रयोग नै नगर्ने वा गर्नैपरे सीमित प्रयोग गर्ने, अँध्यारो र शान्त निद्रा वातावरण सिर्जना गर्नाले निद्रा स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ र मस्तिष्कको स्वास्थ्यलाई जोगाइराख्न सकिन्छ ।
व्यक्तिको निद्राको गुणस्तरले उनीहरूको मस्तिष्क स्वास्थ्यलाई कसरी असर गर्छ ? यसको एउटा उदाहरण जलन पनि हुन सक्छ । बढ्दो प्रमाणले यो सुझाव दिन्छ कि निद्रा गडबडीले शरीरमा जलनको स्तर बढाउँछ । फलस्वरूप जलनले मस्तिष्कलाई धेरै तरिकाले हानि पुर्याउन सक्छ, रक्तनलीलाई क्षति पुर्याउने, विषाक्त प्रोटिनको निर्माणलाई प्रोत्सान गर्ने र मस्तिष्क कोषको तीव्र हानि हुने गर्छ ।
अध्ययनको सुरुमा सहभागीहरूबाट संकलन गरिएको रगतको नमुनाको कारणले गर्दा हामीले जलनको भूमिकाको अनुसन्धान गर्न सक्षम भयौँ । यी नमुनामा शरीरमा प्रवाह हुने जलनको जैविक संकेतबारे प्रशस्त जानकारी हुन्छ । निद्रा र मस्तिष्कको बुढ्यौलीबिचको सम्बन्धमा लगभग १० प्रतिशत जलनको स्तरले ओगटेको हामीले पत्ता लगायौँ ।
अर्को व्याख्या ग्लिम्फाटिक प्रणालीमा पनि केन्द्रित छ । यो प्रणाली मस्तिष्कमा निर्मित फोहोर सफा गर्ने नेटवर्क हो, जुन मुख्यतया निद्राको समयमा सक्रिय हुन्छ । जब निद्रा बिथोलिन्छ वा अपर्याप्त हुन्छ, यो प्रणालीले राम्रोसँग काम नगर्न सक्छ, जसले गर्दा मस्तिष्कमा हानिकारक पदार्थ जम्मा हुन सक्छन् । कम निद्राले टाइप २ मधुमेह, मोटोपना र हृदय रोगसहित मस्तिष्क स्वास्थ्यका लागि हानिकारक अन्य स्वास्थ्य अवस्थाको जोखिम बढाउने सम्भावना पनि उत्तिकै छ ।
हाम्रो अध्ययन आफ्नो किसिमको सबैभन्दा ठुलो र बृहत्मध्ये एक हो, जसले धेरै ठुलो अध्ययन जनसंख्या, निद्रा स्वास्थ्यको बहुआयामिक मापन र हजारौँ मस्तिष्क एमआरआई सुविधामार्फत मस्तिष्कको उमेरको विस्तृत अनुमानबाट लाभ उठाउँछ । अघिल्लो अनुसन्धानले कम निद्रालाई संज्ञानात्मक गिरावट र डिमेन्सियासँग जोडेको थियो भने हाम्रो अध्ययनले कम निद्राले मस्तिष्कको बुढ्यौलीमा वृद्धि हुने थप कुरालाई उजागर गरेको छ र जलनले यो सम्बन्धलाई पुष्टि गर्न सक्छ । मस्तिष्कको बुढ्यौलीलाई बेवास्ता गर्न सकिँदैन, तर हाम्रो व्यवहार र जीवनशैली छनोटले यो कसरी प्रकट हुन्छ भनेर आकार दिन सक्छ । हाम्रो अनुसन्धानको प्रभाव स्पष्ट छ– लामो समयसम्म मस्तिष्कलाई स्वस्थ राख्न निद्रालाई प्राथमिकता दिनु महत्वपूर्ण छ ।
(डोभ कारोलिन्स्का इन्स्टिच्युटको न्युरोएपिडेमियोलोजीमा पोस्टडक्टरल अनुसन्धानकर्ता हुन् । द कन्भर्सेसनका लागि डोभको आलेख सुभाष शर्माले भावानुवाद गरेका हुन् ।)