बौद्धस्थित हायात रिजेन्सी होटेल र कर्मचारीबिच होटेल पुनर्निर्माण अवधिभरका लागि श्रमिकहरूको रोजगारीको विषय समाधानका लागि भनी एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउने विषयमा सहमति भएको छ। गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा होटेलमा तोडफोड, आगजनी र लुटपाट भएपछि होटेल हाल बन्द छ।
होटेल पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने भन्दै होटेल व्यवस्थापनले कर्मचारीका प्रतिनिधिसँग छलफल गरी सहमति गरेको जनाएको छ। आन्दोलनका क्रममा भएको तोडफोडका कारण ठुलो आर्थिक तथा भौतिक क्षति पुगेको छ। ‘पूर्ण रूपमा मर्मतसम्भार नगरी होटेल सञ्चालन हुने अवस्था छैन,’ होटेल व्यवस्थापनले भनेको छ।
सहमतिअनुसार होटेलले कर्मचारीलाई एक वर्षसम्म नेपाल सरकारले निर्धारण गरेको न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउनेछ र सामाजिक सुरक्षा कोषमा पनि सोही अनुपातमा योगदान गर्नेछ। यसले कर्मचारीको रोजीरोटी तथा रोजगारीको सुरक्षा हुने होटेलले जनाएको छ।