वीरगन्ज कारागारका एक कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका– १२, मुर्लीका ३७ वर्षीय अनिल महताे रहेको प्रहरीले जनाएको छ ।
कैदीबन्दी महतो पहिलेदेखि नै उच्च रक्तचाप र मधुमेहको बिरामी भएकाले स्वास्थ्यमा समस्या भएपछि प्रहरीले अस्पताल लगेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीले जानकारी दिए ।
उपचारका लागि उनलाई शुक्रबार दिउँसो नारायणी अस्पतालमा लगिएकाेमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक सुवेदीले बताए ।
मृतक महतो सवारी ज्यान मुद्दामा अदालतबाट तीन वर्ष कैद सजाय र दुई हजार रुपैयाँ जरिवानाको फैसला गरिएपछि वीरगन्ज कारागारमा सजाय काट्दै आएका थिए ।
उनको कैद सजाय आउँदो चैत महिनामा सकिनेवाला थियो । मृतक महताेको उपचारमा लापरबाही गरिएको भन्दै उनका परिवारजनले अस्पतालपरिसरमै केहीबेर विवाद गरेका थिए ।