पूर्व-पश्चिम राजमार्गको पथलैया-ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन्। मुख्य राजमार्गको पुल निर्माण वर्षौँदेखि अलपत्र परेको भन्दै गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले शुक्रबार पुल निर्माणको स्थलगत निरीक्षण गरेका थिए ।
मन्त्री घिसिङले पुल निर्माण सम्पन्न हुने तालिका, बाँकी काम, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक र निर्माण व्यवसायीसँग छलफल गरेका थिए। मुख्य राजमार्गकै पुल लामो समयदेखि निर्माण हुन नसक्दा यात्रुहरूले सास्ती व्यहोर्नुपरेको उल्लेख गर्दै मन्त्री घिसिङले विद्युत् लाइन देखाएर काम रोक्न नहुने र तत्काल सम्पन्न गर्नुपर्ने बताए। उनले पुल नजिकबाट गएको ११ केभी लाइनले निर्माणमा कुनै असर नपर्ने उल्लेख गरे।
पुल निर्माणको ठेक्का पाएको महादेव खिम्ती-हिराचन उपक्रम (जेभी) काठमाडौंको रवि सिंहले पछिल्लोपटक थप गरिएकै समयमा पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए। निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका सिंहले पुसभित्र पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गर्ने बताए ।
चार लेनको ९० मिटर लम्बाइ भएको कंक्रिट पुल निर्माणका लागि महादेव खिम्ती-हिराचन उपक्रम (जेभी) सँग २४ असार २०७५ मा १७ करोड २२ लाख (करसहित)मा ठेक्का सम्झौता भएको थियो। सुरुको सम्झौताबमोजिम पुल निर्माण असार २०७८ भित्र सम्पन्न गर्नुपर्ने थियो। पछिल्लो म्याद थपबमोजिम पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्नुपर्नेछ। पुलको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ ।
मनमत-कलैया-मटिरवा सडक तत्काल सम्पन्न गर्न स्थानीयको माग
हुलाकी राजमार्गअन्तर्गत बाराको मनमत-कलैया-मटिरवा सडकखण्ड तत्काल सम्पन्न गर्न स्थानीय बासिन्दाबाट माग गरिएको छ। मधेश प्रदेश बारा, पर्सा र रौतहट जिल्लाका सडक, सिँचाइ र विद्युत् आयोजनाहरूको निर्माण प्रगतिको स्थलगत निरीक्षणका क्रममा कलैया पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङसमक्ष स्थानीयबाट सदरमुकामकै सडक नबन्दा ठुलो सास्ती व्यहोर्नुपरेको बताइएको थियो। मन्त्री घिसिङले सडक रुग्ण अवस्थामा रहेको सडक निर्माणको ठेक्कालाई सरकारले उपयुक्त निर्णय गरी अगाडि बढाउने बताए।
करिब चार किलोमिटर सडक स्तरोन्नतिका लागि २७ पुस २०७८ मा सप्तकोशी जलाधार-ओम साई एन्ड कम्पनी उपक्रम (जेभी), काठमाडौंसँग २२ करोड ३१ लाख रुपैयाँ (करसहित)मा ठेक्का सम्झौता भएको थियो। १ माघ २०७९ भित्र निर्माण सम्पन्न गर्ने गरी सुरुवाती ठेकका सम्झौता भएकोमा दोस्रोपटक थपिएको म्याद ४ चैत २०८२ मा सकिँदै छ । सडक निर्माणको भौतिक प्रगति करिब २० प्रतिशत मात्र छ ।
निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण सडक निर्माण अलपत्र छ । ठेक्का अन्त्य किन नगर्ने भन्दै गत ३१ असोजमा निर्माण व्यवसायीलाई सार्वजनिक स्पष्टीकरण सोधिएको थियो । त्यसपछि निर्माण व्यवसायी निर्माणस्थलमा परिचालित भएको, तर हालसम्म पनि उल्लेखनीय प्रगति हासिल नभएको अवस्था रहेको छ ।