रैथाने बाली उत्पादनको आउटलेट काठमाडौंमा पनि

शुक्रबार, २७ मंसिर, २०८२
डिजिटल संस्करण

चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था जुम्लाले संघीय राजधानी काठमाडौंमा पनि रैथाने बाली उत्पादनको आउटलेट अर्थात् मिनीमार्केट कोसेली घर सञ्चालनमा ल्याएको छ । माथिल्लो कर्णाली विशेष गरी जुम्ला र यसको छिमेकी जिल्ला कालिकोट, मुगु, डोल्पा, हुम्लामा उत्पादन हुने रैथाने बालीको बजारीकरण गर्नका लागि काठमाडौंमा आउटलेट सञ्चालनमा ल्याएको हो । 

काठमाडौं महानगरपालिका– ११, भद्रकालीमा रैथाने बाली उत्पादनको आउटलेट अर्गानिक मिनीमार्केट (कोसेली घर) सञ्चालनमा ल्याएको हो। यसअघि जुम्लाको सदरमुकाम खलंगा, जुम्ला कालिकोटको सीमाक्षेत्र नाग्म बजार र कर्णाली प्रदेश राजधानी सुर्खेतको विमानस्थलमा रैथाने बालीको बजारीकरणको आउटलेट सञ्चालनमा ल्याएको सहकारीकी अध्यक्ष विष्णुमाया बुढाले बताइन् । 

सहकारी महासंघका अध्यक्ष रमेशप्रसाद पोखरेलले चन्दननाथ सहकारीले कृषि क्षेत्रमा गरेको काम देशमै उल्लेखनीय र अनुकरणीय रहेको बताए । उनले रैथाने बाली प्रवर्द्धन, उत्पादन वृद्धि र बजारीकरणमा गरेको कामलाई अन्य सहकारीले पनि सिक्नुपर्नेमा जोड दिए। आर्थिक विकास, बचत संकलन, वित्तीय साक्षरतासँगै कृषि क्षेत्रमा पनि उल्लेखनीय काम गर्दै आएको सहकारीले सदस्यहरूलाई कृषिमा आकर्षित गर्नसमेत अर्गानिक मिनीमार्केट सञ्चालन गरेको हो।

बिस्तारै जुम्लासँगै अन्य जिल्लामा पनि माग बढ्न थालेपछि कर्णाली प्रदेशका अन्य जिल्लासँगै सुदूरपश्चिम, लुम्बिनी प्रदेशसँगै संघीय राजधानीमा पनि मार्केट सञ्चालन ल्याएको सहकारीका व्यवस्थापक ऋषिराम पाण्डेले बताए। उनले भने, ‘कर्णालीमा उत्पादित अर्गानिक रैथाने कृषिजन्य उत्पादन राखिएको छ ।’

‘कर्णालीमा उत्पादित रैथाने अर्गानिक कृषिवस्तुको संरक्षण, प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्याउने हेतुले कोसेली घर खोलिएको छ,’  प्रमुख पाण्डेले भने, ‘अहिले चन्दननाथ सहकारीमा २२ हजारभन्दा धेरै सदस्य छन्। उनीहरूले नगदको सट्टा आफूले उत्पादन गरेको अन्नबाली मिनीमार्केटमा दिएर पनि बचत गर्न सक्छन् । चाहिएको वेला पैसा लिने र नभए आर्थिकका रूपमा वस्तु बचत गर्छन् । अहिले किसानले आफ्नो उत्पादन सिधै मिनीमार्केटमा ल्याएर पनि बेचिरहेका छन् । यसले सहकारीका सदस्यहरू कृषिमा प्रेरित भएका छन् । अरू क्षेत्रभन्दा कृषि प्रयोजनका लागि ऋण लगानी गर्ने गरिएको छ । 

कोसेली घरमा मार्सी चामल, सिमी, चिनो, कागुनो, चिया, टिमुर, मह, गहत र रैथाने राडीपाखी, खरायोको टोपी, लिउ, सिलाजित, कोदो, जिम्बु, टिमुर, जौको सातु, फापरको पिठो, ओखर, भटमासलगायत कर्णालीमा उत्पादन भएका ४२ भन्दा बढी प्रकारका खाद्यवस्तु राखिएको छ । जुम्लाबाटै लेबलिङ प्याकेजिङ गरेर पठाउने गरिएको छ भने मिनीमार्केटले एकै वर्षमा दुई करोडसम्मको अर्गानिक रैथानेबालीको किनबेच गर्दै  आएको छ । जुम्लामा आउने पर्यटकदेखि चाडपर्वमा घर फर्किने कर्मचारीहरूले कोसेलीका रूपमा अर्गानिक वस्तु लिने गरेका छन् । अब काठमाडौंमा जुम्लाको रैथाने वस्तु सुपथ मूल्यमा पाइनेछ ।

सुझावित समाचार