मोरङ उद्योग व्यापार संघले अगामी पुसमा विराटनगरमा अन्तर्राष्ट्रियस्तरको १० दिने औद्योगिक व्यापार मेला ‘विराट ट्रेड एक्स्पो– २०८२’ आयोजना गर्ने भएको छ । मुलुककै जेठो उद्योग वाणिज्य संघ एवं नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य मोरङ उद्योग व्यापारले ९ देखि १९ पुससम्म विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक व्यापार मेला ‘विराट ट्रेड एक्स्पो’ आयोजना गर्ने भएको हो ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीका अनुसार पहिलेदेखि आयोजना गर्दै आएको औद्योगिक मेलाका रूपमा ‘विराट ट्रेड एक्स्पो’ गरिने र यसमा भारत, बंगलादेश र पाकिस्तानका २५ सहित दुई ३० वटा स्थल रहनेछन् । उनका अनुसार मेला दुई लाखभन्दा बढीले अवलोकन गर्नेछन् भने ५० करोडभन्दा बढीको कारोबार हुने अपेक्षा छ ।
एक्स्पोमा नेपाल व्यापार रणनीतिअन्तर्गत पहिचान गरिएका कोशी प्रदेशसहित अन्तरप्रादेशिक उत्पादन पनि प्रदर्शनी गरिनेछन् । एक्स्पो स्वदेशी–विदेशी उत्पादन प्रदर्शन गर्ने, खरिद–बिक्री र लगानीको सम्भावनाबारे छलफल गर्ने उत्कृष्ट थलो हुने संयोजक अमित सारडाले बताए ।