सुदूरपश्चिम र लुम्बिनीबिच उपाधि भिडन्त भोलि

शुक्रबार, २७ मंसिर, २०८२
डिजिटल संस्करण
  • लुम्बिनीका रुबेन र शेरले पावर प्लेमै घातक बलिङ गर्दा क्वालिफायर २ मा विराटनगर ४० रनले पराजित

सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिच शनिबार दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । सुदूरपश्चिम लगातार दोस्रो तथा लुम्बिनी पहिलोपटक फाइनलमा पुगेका हुन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार लुम्बिनीले विराटनगर किंग्सलाई ४० रनले जित्दै सुदूरपश्चिमविरुद्धको फाइनल समीकरण तयार पारेको हो । गत सिजनमा सुदूरपश्चिम उपविजेता बन्दा लुम्बिनी भने अंकतालिकाको पुछारमा थियो । 

पहिलो संस्करणमा लुम्बिनीले एक मात्र जित निकालेको थियो । चालू एनपिएलमा भने लुम्बिनीले लगातार पाँच खेलमा जित निकाली फाइनलको यात्रा तय गरेको हो । लुम्बिनीले लिग चरणका अन्तिम तीन, इलिमिनेटर र क्वालिफायर २ मा जित निकाल्यो । लुम्बिनी र विराटनगरबिचको प्रतिस्पर्धा सेमिफाइनलका रूपमा रहेको थियो । जित्ने फाइनलमा र पराजित हुने टोलीको एनपिएल यात्रा क्वालिफायर २ मा सीमित हुने थियो । पहिलो ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा आठ विकेट गुमाएर १३४ रनको मध्यम योगफल बनाएको थियो । 

प्रत्युत्तरमा रुबेल ट्रम्पलम्यान तथा शेर मल्लको कसिलो बलिङ सामना गर्न नसक्दा विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । लिग चरणमा लुम्बिनीले विराटनगरमाथि सानदार पाँच विकेटको जित निकालेको थियो । क्वालिफायर १ मा सुदूरपश्चिमसँग ७७ रनले पराजित भएपछि विराटनगरले क्वालिफायर २ खेल्ने पाएको थियो । लुम्बिनी भने इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई चा विकेटले हराएर क्वालिफायर २ मा पुगेको थियो । 

विराटनगरले गुमायो नौ बलमा तीन विकेट 
विश्वप्रसिद्ध ब्याट्सम्यानले भरिएको विराटनगरले लुम्बिनीले दिएको १३५ रनको लक्ष्य सहजै पछ्याउने सकिने अवस्था थियो । यसका लागि विराटनगरले उत्कृष्ट सुरुवात गर्नुपर्ने थियो । क्वालिफायर १ मा सुदूरपश्चिम रोयल्ससँगको खेलमा जस्तै गल्ती दोहोर्याउँदा विराटनगर संकटमा पर्ने थियो । त्यही गल्ती नगर्न विराटनगरका ओपनर मार्टिन गुप्तिल र फाफ डु प्लेसिसले सतर्कता अपनाएका थिए । रुबेलका पहिलो चार बलमा दुवैले एक–एक रन लिए । दुवै ब्याट्सम्यानका ‘वडी ल्यांग्वेज’ ठुलो सट नभएर साझेदारीतर्फ केन्द्रित देखिन्थ्यो । तर, इनिङ्सको ०.५ बलमा गुप्तिल रुबेलको बललाई हल्का उठाउँदा मिडअनमा जेजे स्मिटबाट सहज क्याच आउट हुन पुगे । 

विराटनगरले दोस्रो डाउनमा घरेलु खेलाडी लोकेश बमलाई पठाएको थियो । पिचमा स्विङ बल भइरहेको अवस्थामा लोकेश सामना गरेको पहिलो बलमै रुबेलबाट एलबिडब्लू धरापमा परे । लुम्बिनीले पहिलो ओभरमै विराटनगरलाई ४/२ को नाजुक अवस्थामा राख्यो । 

अघिल्लो खेलमा काठमाडौं गोर्खाजविरुद्ध उत्कृष्ट बलिङ गरेका शेर मल्लले दोस्रो ओभर बलिङ गरेका थिए । उनले इनिङ्सको १.३ ओभरमा दक्षिण अफ्रिकाका पूर्वकप्तान डु प्लेसिसलाई विकेट टु विकेट बलिङ गर्दै क्लिन बोल्ड गरेका थिए । डु प्लेसिसले चार बलमा तीन रन मात्र प्रहार गरे । डु प्लेसिस आउट हुँदा विराटनगर ६/३ को स्थितिमा थियो । लुम्बिनीले नौ बलको अन्तरमा विराटनगरका शीर्ष तीन प्रमुख ब्याट्सम्यानको विकेट लिँदै खेलमा पकड बनायो । पहिलो ओभरदेखि नै विराटनगरमाथि हाबी भयो । इनिङ्सको कुनै पनि समयमा विराटनगरले लुम्बिनीलाई चुनौती दिन सकेन । 

तिलकको सनसनीपूर्ण बलिङ
लेग ब्रेक स्पिनर तिलक भण्डारीले यसअघिका खेलमा पनि मौका नपाएका होइनन् । तर, उनले विकेट लिन सकिरहेका थिएनन् । क्वालिफायर २ मा भने तिलक चम्किए । उनले चार ओभरमा १५ रन खर्चेर तीन विकेट हात पार्दै लुम्बिनीको फाइनल यात्रामा महत्वपूर्ण योगदान दिए । तिलकले इनिङ्सको ६.३ ओभरमा शंकर राना, ११.५ ओभरमा बसिर अहमद र १५.४ ओभरमा प्रतिश जिसीको विकेट लिए । रुबेलले तीन ओभरमा ९ रन खर्चेर दुई तथा अभिषेक गौतमले २२ रन दिएर दुई विकेट हात पारे । विराटनगरको ब्याटिङमा साम हेजेटले २८ बलमा ३४, मर्चान्ट डी लांगेले १७ तथा नरेश भट्टले २१ रनको योगदान दिए । साम र डी लांगेले पाँचौँ विकेटका लागि २८ रनको साझेदारी गरेका थिए । 

दोस्रो विकेटको महत्वपूर्ण साझेदारी
पहिलो ब्याटिङ गरेको लुम्बिनीको पनि सुरुवात राम्रो भएन । लुम्बिनीले इनिङ्सको १.६ ओभरमा दिनेश अधिकारीलाई गुमाएको थियो । त्यसपछि ओपनर डार्सी सर्ट र कप्तान रोहित पौडेलले दोस्रो विकेटका लागि महत्वपूर्ण ६९ रनको साझेदारी गरे । डार्सीले ४५ र रोहितले ३४ रनको योगदान गरे । रोहित १२औँ ओभरमा सुवास भण्डारीबाट बोल्ड भए । डार्सी १४औँ ओभरमा आउट भए । उनले ४१ बलमा तीन चौका र एक छक्का प्रहार गरे । रोहितले ३० बलमा समान दुई छक्का र चौका प्रहार गरी ३४ रन जोडे । निरोसन डिक्वेलले २२ बलमा चार चौकाको सहयोगमा २९ रन जोडेका थिए । बलिङमा विराटनगरका सुवासले तीन विकेट लिँदा चार ओभरमा १४ रन मात्र दिए । प्रतिश जिसीले पनि तीन विकेट लिन २७ खर्चिए । कप्तान सन्दीप लामिछानेले १८ रन खर्चेर दुई विकेट हात पारे ।

खेलपछिका भनाइ
टिमवर्कको भावनामा खेल्यौँ : रोहित पौडेल, कप्तान, लुम्बिनी

लुम्बिनी निकै खराब अवस्थाबाट फाइनलमा पुगेको छ । लिग चरणको सुरु र मध्यतिर राम्रो गर्न सकेनौँ । लगातार खेलमा टिमवर्क भावनामा सबै खेलाडीले प्रतिस्पर्धा गर्दै आइरहेका छन् । यसैको नतिजा लुम्बिनी पहिलोपटक फाइनलमा पुगेको छ । गत वर्ष धेरै गल्ती गरेका थियौँ । यसअघि नै फाइनल पुगेको सुदूरपश्चिम निकै राम्रो टोली हो । सुदूरपश्चिमले एक खेल मात्र गुमाएको छ । अन्य सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । उपाधि भिडन्तमा सुदूरपश्चिमलाई चुनौती दिन्छौँ । उनीहरूको पनि स्पिन बलिङ राम्रो छ । फाइनलमा सुदूरपश्चिमका स्पिनरविरुद्ध सतर्कता अपनाएर खेल्नुपर्छ । अनावश्यक गल्तीले ठुलो मूल्य चुकाउनुपर्छ । 

टर्निङ पिचमा योजनाअनुसार बलिङ गरेँ : तिलक भण्डारी म्यान अफ दी म्याच, लुम्बिनी
यो पिचमा बल टर्निङ भइरहेको थियो । क्वालिफायर २ मा मात्र नभएर अगाडिका खेलमा पनि यस्तै प्रकृतिको पिच थियो । स्पिन र फास्ट बलरका लागि पिच मैत्रीपूर्ण हुँदा बलिङ गर्न सहज भयो । विराटनगरका ब्याट्सम्यानविरुद्ध नर्मल बल फ्याँकेको थिएँ । बल टर्निङ हुँदा विकेट आइरहेको थियो । ब्याट्सम्यान बिट भइरहेका थिए । कप्तानको विश्वास तोडिनँ । लुम्बिनीमा अझ राम्रा बलर छन् । उनीहरूमाझ तीन विकेट लिन पाउँदा असाध्यै खुसी छ । अनुभवी बलरका अगाडि बलिङ गरिरहँदा दबाब महसुस गरिनँ । अब फाइनलमा योभन्दा राम्रो प्रदर्शन गर्नेछु । 

सुझावित समाचार