एमालेको ११औँ महाधिवेशन : युवा पृष्ठभूमिका थुप्रै नेता पदाधिकारीमा आकांक्षी

शुक्रबार, २७ मंसिर, २०८२
डिजिटल संस्करण

एमालेको ११औँ महाधिवेशनमा युवा विद्यार्थी पृष्ठभूमिका थुप्रै नेता पदाधिकारीमा आकांक्षी छन् । युवा पृष्ठभूमिबाट राष्ट्रिय युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतलाई जसरी पनि उपमहासचिव या सचिवमा समेट्नैपर्ने दबाबमा अध्यक्ष केपी ओली छन् । उनलाई सचिवमै उठाउने तयारी रहेको ओलीनिकट एक पदाधिकारीले बताए ।

त्यस्तै, युवा विद्यार्थी संगठनमा पदाधिकारी बनेर काम गरेका अरुण नेपाल, हिक्मत कार्की, खिमलाल भट्टराई, ठाकुर गैरे, यज्ञराज सुनुवार, पदम गिरी, महेश बर्तौला, निरुदेवी पाल, माधव ढुंगेल, राजीव पहारी, रमेश पौडेल, डा. सुरेन्द्र मानन्धर, किरण पौडेललगायत युवापुस्ताका नेता पदाधिकारीमा चर्चामा छन् । तर, कसैले पनि अझै औपचारिक रूपमा उम्मेदवारी भने घोषणा गरेका छैनन् ।

पत्रकारिता पृष्ठभूमिका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटा तथा अर्का पोलिटब्युरो सदस्य सूर्य थापाको नाम सचिवमा चर्चामा छ । बाँस्कोटाले आफूले सचिवमा उम्मेदवारी दिने जानकारी गराउँदै ११औँ महाधिवेशनमा प्यानलमा नभएर व्यक्तिगत प्रतिस्पर्धाका आधारमा निर्वाचन हुनुपर्ने पक्षमा वकालत गरेका छन् । उनले स्वस्थ प्रतिस्पर्धाले पार्टीलाई बलियो बनाउने भएकाले जसले अध्यक्ष जिते पनि पार्टीमा सबैलाई मिलाएर लैजाने सामर्थ्य नेतृत्वमा हुनुपर्ने बताएका छन् ।

उनीहरूमध्ये पोखरेल प्यानलले गैरेलाई सचिवमा समेट्ने बलियो सम्भावना छ । उनले सामूहिक नेतृत्व प्रणालीबाट पार्टी सञ्चालन हुनुपर्ने भन्दै नेतृत्व हस्तान्तरण हुनुपर्ने पक्षमा आवाज उठाउँदै आएका छन् । बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा कुनै पनि प्यानलमा नपरेका गैरेले लोकप्रिय मत ल्याएर जितेदेखि नै उनी युवा नेताका रूपमा स्थापित छन् ।

यसपटक सकभर सचिवहरूमा नयाँ अनुहार नै समेट्नुपर्ने दबाबमा एमाले नेतृत्व छ । दुई कार्यकाल योगेश भट्टराई र गोकर्ण विष्ट सचिवमै दोहोरिएकाले पनि अहिलेको विधानमा प्रस्तावित सचिवमा विशेष गरेर नयाँ अनुहार ल्याउनैपर्ने एमालेभित्र व्यापक दबाब छ ।

त्यसो त विद्यार्थी पृष्ठभूमिकै नेता शेरधन राईदेखि विशाल भट्टराईले पनि सचिवमै आकांक्षा राखेका छन् । नयाँ अनुहारकै रूपमा खगराज अधिकारी, भानुभक्त ढकाल, डा. राजन भट्टराई, पार्वत गुरुङ, आनन्दप्रसाद पोखरेल, यामलाल कँडेल, किरण गुरुङ, कृष्णगोपाल श्रेष्ठ, दामोदर भण्डारीलगायतको नाम पनि सचिवमै चर्चामा छ ।

संसदीय मामिलामा प्रमुख सचेतकको भूमिका निर्वाह गरिसकेका पदम गिरी र महेश बर्तौला दुवैजना सकेसम्म पदाधिकारीमा पर्ने दौडमा छन् । बर्तौलाले जिम्मेवारी पाए पार्टीलाई वैचारिक–सांगठनिक रूपमा माथि उठाउने आत्मविश्वास आफूमा रहेको बताए । ‘पार्टी नेतृत्व र प्रतिनिधिहरूले विश्वास गरेर पदाधिकारीको जिम्मेवारी दिँदा पार्टीको प्रतिष्ठा र सांगठनिक अवस्था माथि पुग्ने गरी काम गर्न सकिन्छ भन्ने आत्मविश्वास छ,’ ४० वर्षे उमेर समूहभित्रै पर्ने उनले भने ।

सुझावित समाचार