नेपाल संस्कृत विश्वविद्यालयको बेलझुन्डीस्थित जग्गा तुलसीपुर– १८ निवासी टेकबहादुर डाँगीले ०७१ साउन १ गतेदेखि भाडामा लिए । बाख्रापालनका लागि भनेर ३३ बिघाभन्दा बढी जग्गा १० वर्षका लागि भाडामा सम्झौता भयो । त्यो जग्गामा तीन–चार वर्षजति उनले बाख्रा पनि पालन गरे । त्यसपछि उनले बाख्रापालन गर्न छोडेर योगी आदित्यनाथ फाउन्डेसनलाई दिए। त्यो फाउन्डेसनले गौशाला निर्माण गर्यो ।
अहिले त्यो जग्गा गौशालाले प्रयोग गरिरहेको छ । तर, त्यो जग्गाको भाडा सम्झौता ०८१ असार ३० सकिएको छ । सम्झौताको म्याद गुज्रेको एक वर्ष भइसक्दा पनि त्यहाँबाट न त गौशाला हटेको छ, न त त्यसको सम्झौता बमोजिमको भाडा नै विश्वविद्यालयले प्राप्त गरेको । सम्झौताको मितिसम्मको मात्रै ५६ लाख ६५ हजार भाडा तिर्न बाँकी छ । त्यसयता सम्झौता सकिएपछि भाडा लिइएको छैन ।
सम्झौता भएअनुसार मात्रै भाडा लिन मिल्ने र सम्झौताभन्दा पछिको भाडा नमिल्ने भएकाले भाडा पनि लिइएको छैन । ‘सम्झौतासम्मको मात्रै भाडा लिन मिल्छ, तर, अहिलेसम्म पनि प्रयोग भइरहेको छ, सम्झौताको मिति सकिएकै एक वर्ष भइसकेको छ,’ विश्विद्यालय स्रोतले भन्यो, ‘पछिल्लो एक वर्षको त हिसाब नै भएको छैन।’ डाँगीसँगै वार्षिक पाँच लाख ४४ हजार रुपैयाँ भाडा रकम दिने सम्झौता भएको थियो । त्यो भाडामा वार्षिक १० प्रतिशत वृद्धि गर्ने सम्झौता भएको थियो । त्यो कार्यमा विश्वविद्यालयकै कर्मचारीसमेत जोडिएको स्रोतले बताएको छ ।
‘गौशालाबाट धम्की सहनुपर्छ’
गौशालाका सञ्चालकबाट पटक–पटक विश्वविद्यालयका उपकुलपतिलाई समेत धम्की आउने गर्छ । कहिले विश्वविद्यालयका उपकुलपतिको आवासकै गेट खोलेर भित्र गाई हालिदिने गरिन्छ । वरिपरि मरेका गाईको गन्धले बस्नै नसक्ने अवस्था हुन्छ । यसलाई नियन्त्रण गर्न भनी सम्बन्धितलाई भन्दा उल्टै धम्की आउने गरेको उपकुलपति धनेश्वर नेपालले बताए ।
व्यक्तिगत रिसइवीसमेत हुने स्थित रहेको उनले बताए । दाङका दुईवटा उपमहानगरपालिकाले यो गौशालालाई सहयोग गरेको भन्दै आपत्तिसमेत जनाए। ‘अनुमति छैन, आफूखुसी गौशाला सञ्चालन भएको छ,’ उनले भने, ‘नगरपालिकाको सहयोग लिएर हामीमाथि बाघ बनेको अवस्था छ ।’ आफूमाथि पटक–पटक अपशब्द बोल्ने गरेकाेसमेत उनको भनाइ छ । सम्झौता तोड्ने भनी पटक–पटक बैठक बोलाउँदा पनि नआएको उनले बताए ।
यसरी अटेर गरे कानुनी कारबाही अगाडि बढाउनुपर्ने उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए । उनले लिजमा लिने, तर पैसा नदिने प्रवृत्ति गलत भएको बताए । गौशाला सञ्चालनका लागि उपमहानगरपालिकाले बेलझन्डी छनाेट नगरेको भए पनि जबर्जस्ती गौशाला निर्माण गरेकोसमेत उनले बताए। यद्यपि गाई व्यवस्थापन गर्ने कार्य उपमहानगरपालिकाको पनि जिम्मेवारी भएकाले पटक–पटक आर्थिक सहयोग गरेकोसमेत बताए । ‘म निर्वाचित भएर आएको पहिलो वर्ष १२ लाख, दोस्रो वर्ष सात लाख सहयोग गरियो,’ उनले भने, ‘कर्मचारीको तलब खुवाउनपर्ने भन्दै पटक–पटक उपमहानगरपालिकामा धम्क्याउँदै बजेट माग्ने गर्नुभएको छ ।’
करोड लगानी भएको छ, त्यो पैसा दिए हस्तान्तरण गरिदिन्छु : भरतनाथ योगी
उक्त गौशाला सञ्चालन गर्दा एक करोडभन्दा बढी लगानी भएको भन्दै त्यो लगानी दिएमा उपमहानगरपालिकालाई हस्तान्तरण गरिदिने गौशालाका सञ्चालक भरतनाथ योगीले बताए । यो विषयमा आफूले प्रमुख जिल्ला अधिकारीसँग पनि कुरा गरिसकेको बताएका छन् । मलाई अहिलेसम्म भाडा चाहियो भनेर कसैले भनेको छैन । एक महिनापछि म आफैँ छाड्ने तयारीमा छु, यो विषयमा सिडियोसापसँग पनि कुरा गरिसकेको छु,’ उनले भने, ‘नगरपालिकासँग पनि कुरा भएको छ, एक करोडजति लगानी भएको छ, त्यो लगानी दिनेबित्तिकै नगरपालिकालाई दिइहाल्छु ।’
गाई संरक्षण गर्ने कुरा पवित्र उद्देश्यले नै सुरु गरिएको भए पनि यसलाई सञ्चालन गर्न निकै चुनौती रहेको उनको भनाइ छ । अहिले भिख मागेर गौशाला चलाउनुपरेको उनले बताए