मानव अधिकार चलचित्र महोत्सव : ढुंगानाका तस्बिर प्रदर्शनीमा

बिहिबार, २५ मंसिर, २०८२
डिजिटल संस्करण

१३औँ मानव अधिकार चलचित्र महोत्सवमा नयाँ पत्रिकाकर्मी दीपेन्द्र ढुंगानाका तस्बिर प्रदर्शनीमा राखिएको छ। नेपाल मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा बिहीबारदेखि सुरु भएको महोत्सवमा ढुंगानाका तस्बिर प्रदर्शनीमा राखिएका हुन्।

बिहीबार भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा प्रदर्शन गरिएका तस्बिरहरू शुक्रबारदेखि २८ गतेसम्म चलचित्र विकास बोर्डमा राखिनेछन्। २९ गते पुनः बोर्डमै समापन कार्यक्रम गरिनेछ।

ढुंगानाले महिलाको दैनिकी र घरायसी कामलाई क्यामेरामा कैद गरेका छन्। काभ्रेको भुम्लु गाउँपालिका–१ बस्ने ३१ वर्षीया राधिका पहरी र उनको परिवारको दैनिकीलाई ढुंगानाले क्यामेरामा उतारेका हुन्।

‘ग्रामीण महिलाले बिहानदेखि बेलुकीसम्म गर्ने कामलाई तस्बिरमा देखाएको छु,’ उनले भने, बिहानदेखि बेलुकी अबेरसम्म पनि उनीहरूको काम सकिएको हुँदैन। तर, घरायसी कामको हिसाब अर्थतन्त्रमा देखिँदैन। समाजले यसको हिसाब राखेर यसलाई सम्मान र महत्वका साथ हेर्न जरुरी छ। त्यसका लागि दबाब सिर्जना गर्न मैले ग्रामीण महिलाको जीवनलाई प्रदर्शनीको मुख्य विषयवस्तु बनाएको हुँ।’

सामाजिक विषयवस्तु र जोखिमयुक्त अवस्थामा फोटोहरू कैद गर्दै आएका ढुंगाना २३ भदौमा जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि गोली लागेर घाइते भएका थिए।

सुझावित समाचार