मुक्तिनाथ विकास बैंकले जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई जनचेतनामूलक सन्देश प्रवाह गर्नका लागि आवश्यक सामाग्री सहयोग गरेको छ ।
बंैकको स्याङ्जा शाखाले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जनचेतनामूलक सन्देश प्रवाहको लागि आवश्यक स्मार्ट टेलिभिजनलागायतका सामाग्री प्रहरीलाई सहयोग गरेको हो ।
बैंकका सञ्चालक भरतप्रसाद लम्साल र बैंकका उपक्षेत्रीय कार्यालय स्याङ्जा निर्देशक ऋषिराम ढकालले सहयोग गरिएका सामाग्रीहरु स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेलाई हस्तान्तरण गरेका थिए ।
सहयोग हस्तान्तरणपछि सञ्चालक लम्सालले प्रहरीको कामलाई सहज बनाउनका लागि बंैकले सहयोग गरेको बताए । उनले आवश्यकताको आधारमा बैंकले विभिन्न सहयोग माग्दै आएको जानकारी दिएका थिए । प्रहरी उपरीक्षक न्यौपानेले सबैको साथ र सहयोगले प्रहरीलाई दैनिक कार्य गर्न सहज भएको बताए ।
सहयोग प्राप्त टेलिभिजन कार्यालयको प्रतिक्षालयमा राखिने र सेवाग्राहीले प्रतिक्षालयमै बसेर प्रहरीले जारी गरेको सन्देशमूलक श्रव्यदृश्य सामाग्री हेर्न र सुन्न सक्नेछन् । निर्देशक ढकालले बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक काममा सहयोग गर्दै आएको बताए ।