दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा पुग्ने निर्णायक खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३४ रन बनायो। दोस्रो क्वालिफायर्सको विजेताले फाइनलमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ।
लुम्बिनीको लागि डार्सी सटले सर्वाधिक ४५ रन बनाए। ४१ बलमा तीन चौका र एक छक्का हिर्काएका उनलाई सुवास भण्डारीले मार्टिन गप्टिलबाट क्याच गराए। अस्ट्रेलियाका ३५ वर्षीय ब्याटर डार्सीले यसअघि पनि विराटनगरविरुद्ध ५७ रन बनाएका थिए।
कप्तान रोहितकुमार पौडेलले ३४ रन बनाए। ३० बलमा समान दुई चौका र छक्का हिर्काएका उनलाई सुवासले नै बोल्ड गरेका थिए। डार्सी र रोहितबीच दोस्रो विकेटको लागि ५६ बलमा ६९ रनको बलियो साझेदारी भयो। १।६ ओभरमा एक रन बनाएका ओपनर दिनेश अधिकारी आउट भएपछि दुई खेलाडी ११.२ ओभरसम्म क्रिजमा रहेका थिए। रोहित आउट हुँदा लुम्बिनीले कूल ७७ रन बनाएको थियो।
निरोशन डिकवेलले २२ बलमा ४ चौकासहित २९ रन बनाए। उनलाई सन्दीप लामिछानेले साम हेजलेटबाट क्याच गराए।ओपनर दिनेश अधिकारीले एक रन बनाउँदा आशा गरिएका ब्याटर सन्दीप जोरा डक आउट भए। जेजे स्मिथ पनि डक आउट भएपछि ठूलो स्कोर बनाउन लुम्बिनीको योजना असफल भयो। रुवेन ट्रम्पलमेनले ११ रन बनाउँदै अविजित रहे।
विराटनगरका बलर सुवास भण्डारी र प्रतिश जिसीले समान ३ विकेट लिए। ४ ओभर बलिङ गरेको सुवासले १४ रन खर्चिँदा डार्सी, रोहित र दिनेशको महत्वपूर्ण विकेट लिएका हुन्। प्रतिश जिसीले पनि ४ ओभरमा तीन विकेट निकाले। प्रतिशले तल्लो क्रममा शेर मल्ल, दिलिप नाथ र जेजे स्मिथको विकेट लिएका हुन्। सन्दीपले ४ ओभरमा १८ रन खर्चिएर दुइ विकेट लिए। सन्दीपले अभिनाश बोहरालाई पछि पार्दै प्रतियोगितामा सर्वाधिक १७ विकेट लिन सफल भएका छन्।
आजको खेलको विजेताले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। पहिलो क्वालिफायर्समा विराटनगरलाई ७७ रनले हराउँदै सुदूर फाइनलमा पुगेको हो। पराजित विराटनगरले यसपटक दोस्रो क्वालिफायर्स खेल्ने अवसर पायो। यता, इलिमिनेटरको खेलमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनीले आफ्नो लय कायम राखेको छ।
यसअघि लिगमा सुदूरपश्चिमले ७ मध्ये ६ खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा रह्यो। समान १० अंक भएपछि नेट रनरेटमा काठमाडौंलाई पछि पार्दै विराटनगर दोस्रो स्थानमा सुरक्षित गर्न सफल भयो। ८ अंकको लुम्बिनी प्लेअफ खेल्ने चौथो टोली बन्यो। यता, पाँचौं पोखरा, छैटौं कर्णाली र सातौं चितवन तथा साविक विजेता जनकपुर पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएका थिए।