श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले आफ्नो पार्टी देश र माटो सुहाउँदो भएको बताएका छन् ।
श्रम संस्कृति पार्टी धनकुटाले आज धनकुटाको तल्लो टुँडिखेलमा आयोजना गरेको बृहत आमसभामा अध्यक्ष राईले कसैले पनि धर्तीको माटोलाई माया नगरेकाले आफूले पार्टीको नामनै श्रम संस्कृति र चुनाव चिन्ह माटो राखेको स्पष्ट पारे । आफू श्रममा विश्वास गर्ने यो धर्तीको एउटा सानो व्यक्ति भएको र श्रम संस्कृति पार्टी पार्टी नभएर एउटा अभियान भएको उनले बताए । उनले भने, ‘खासमा श्रममा विश्वास गर्ने हरेकलाई यो अभियानमा जोड्न सकिन्छ । यो कुनै पार्टी नभएर अभियान हो । तर, निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने कानुनी बाध्यता रहेकोले मात्र श्रम संस्कृति पार्टी भनिएको हो ।’
धरान उपमहानगरपालिकाका मेयर समेत रहेका राईले आउने निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी समेत गरेका छन् । उनले नेता जितिरहने र जनता हारिरहने परिपाटीको अन्त्यको लागि पनि श्रम संस्कृति पार्टीको स्थापना गरिएको बताए ।
अध्यक्ष राईले तीन करोड नेपालीमध्ये अहिले एक करोड विदेशमा रहेकाले उनीहरूलाई घर फर्काउन पनि सबैजना जागरुक हुनु पर्नेमा जोड दिए ।
उनले पार्टी, जाति, धर्म, वर्ग र व्यक्तिगत स्वार्थका कारण छियाछिया परेको देशलाई सिलाउन आफु सियो भएर पार्टीमार्फत आएको बताए । श्रम संस्कृति पार्टी एउटा अभियान भएको कारण पनि यसको छुट्टै झण्डा नभई देशको झण्डा बोकेर देश दौडाहामा रहेको उल्लेख गरे । राईले देशमा भइरहेको भ्रष्टचार, घुसखोरीहरूलाई खबरदारी गर्न सबैलाई आह्वान समेत गरे । विभिन्न साँस्कृतिक झाँकीसहित धनकुटा बसपार्कबाट सुरु भएको र्याली धनकुटा नगरपालिका–७ यलम्बर चोकमा स्थापना गरिएको जिल्ला पार्टी कार्यालयको उद्घाटनपछि तल्लो टँुडिखेलमा पुगेर आमसभामा परिणत भएको थियो ।