उदयपुरको दुवै निर्वाचन क्षेत्रमा कांग्रेसको उम्मेदवार सिफारिस

बिहिबार, २५ मंसिर, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कांग्रेस उदयपुरले उम्मेदवार सिफारिस गरेको छ। कांग्रेस जिल्ला कार्यसमितिका सभापति हिमाल कार्कीका अनुसार क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएका उम्मेदवारको नाम प्रदेश कार्यसमितिलाई सिफारिस गरिएको हो।

आज बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ ६ जना, समानुपातिकमा ४ जना र राष्ट्रिय सभामा ९ जानको नाम सिफारिस गरेको कार्कीले जानकारी दिए।

उनका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा डा. नारायण खड्का, विदुर बस्नेत र लक्ष्मी परियार रहेका छन्। खड्का निर्वतमान प्रतिनिधिसभा सदस्य पनि हुन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को लागि संजिव थापा, कृष्णकुमार श्रेष्ठ र सरस्वती ढुंगानाको नाम सिफारिस गरिएको सभापति कार्कीले जानकारी दिए।

समानुपातिकतर्फ नारायणबहादुर कार्की, सत्यनारायण चौधरी, सिता राई र रामकुमारी साहको नाम सिफारिस गरिएको छ।

यसैगरी, राष्ट्रिय सभा निर्वाचनको लागि जिल्लाबाट नौजनाको नाम सिफारिस भएको छ। जसमा हेरम्बबहादुर थापा, अर्जुनकुमार खड्का, प्रर्मिला राई, भोजराज खतिवडा, गोविन्द चाम्लिङ, जयजन्म राई, सुमन परियार, हिरामान मोते, सन्जा दनुवार छन्। सिफारिस भएका सबै पुरानै नेताहरु हुन्।

कार्कीले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक अनि राष्ट्रिय सभामा निर्वाचनको लागि उम्मेदवार सिफारिस भएका नामहरु आगामी दिनमा हुने स्थानीय तह र प्रदेश सभा निर्वाचनमा सिफारिस नगरिने बताए। उनले भने, ‘हामीले पार्टीमा योगदान, जनमतलगायत सबै पक्षको अध्ययन गरेर सिफारिस गरेका छौँ। भोलिका दिनमा हुने स्थानीय तह र प्रदेशसभा निर्वाचनमा अहिले सिफारिस भएका नामहरु सिफारिस हुने छैनन्।’

बैठकले पार्टी केन्द्रको केन्द्रीय १५ औं महाधिवेशन समयमै सम्पन्न गराउन जिल्लामा हुने सम्पूर्ण कामहरु समयमै गर्न पनि निर्णय गरेको छ। उनले भने, ‘क्षेत्रीय समितिहरुले कारवाहीमा परेका व्यक्तिको नाम सिफारिस गरेर जिल्लामा पठाएका छन्। त्यस्ता क्षेत्रीय समितिलाई स्पष्टीकरण सोध्ने निर्णय पनि भएको छ।’

सुझावित समाचार