महोत्तरी सदरमुकाम जलेश्वरलगायत जिल्लाकै विभिन्न शहर तथा बस्ती र नेपाल भारतको सिमा भिठामोडदेखि जनकपुरधामसम्मको मुख्य सडक र बजार क्षेत्रहरु यत्रतत्रमा फोहोर प्रशस्तै देख्न सकिन्छ । विभिन्न खाद्य तथा अखाद्य वस्तु मिश्रित ति फोहोरले वातावरण दुर्गन्धित हुनुका साथै स्वास्थ्यको दृष्टिकोणले समेत मानव र पशुहरुमा असर पारिरहेको छ । पशु चौपायाहरु खानाकै लोभमा यस्ता प्लाष्टिकजन्य फोहोर समेत खाइदिँदा उनीहरु विभिन्न रोगको सिकार हुनुका साथै ज्यान नै समेत जोखिममा पर्ने गरेको छ ।
प्लाष्टिक दैनिक जीवनमा जति उपयोगी भएपनि स्वास्थ्य र वातावरणीय दृष्टीले त्यती नै हानिकारक पनि छ । हामीले तरकारी वा विभिन्न सरसामान किन्दा ति सामानसँगै घरमा आउने प्लाष्टिक पुनः प्रयोगपछि फोहोरसँगै घरबाहिर जाने हुन्छ र अन्य फोहोरसँग मिसिएर त्यसले प्रकृतिसँगै पशुहरुमा समेत प्रतिकुल असर पार्ने गरेको सरसफाई अभियन्ताहरु बताउँछन् ।
खानाका सामानहरु हामीले तिनै प्लाष्टिकमा राखेर फाल्दा पुशचौपायाले खानासँगै ति प्लाष्टिक समेत खाइदिने गर्छन् र पछि त्यसले उनीहरु बिरामी हुनुका साथै कतिपय अवस्थामा उनको ज्यान नै जान सक्ने हुन्छ। प्लाष्टिकजन्य फोहोरले पशु स्वास्थ्यमा पार्ने असरबारे पशुविज्ञ भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र,धनुषाका प्रमुख संजिव कुमार ठाकुर चिन्ता व्यक्त गर्छन ।
उनी पशुले फोहोर,प्लास्टिक र खानामा फरक छुट्याउन नसक्ने भएकोले छाडा चौपायाले दैनिक फोहोर र फोहोर मिसिएको प्लास्टिक खाइरहेको बताए । उनले केहि दिन पहिले मात्र एउटा गाईको पेटबाट शल्यक्रिया गरेर प्लास्टिक निकालेको बताउदै पशुहरुको ज्यान हाम्रै कारण जोखिममा परिरहेको बताए ।
यता फोहोर व्यवस्थानको लागि स्थानीय तहले हरसम्भव कार्य गरिरहेको जनप्रतिनिधीको भनाइ छ । जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारले फोहोर व्यवस्थापन जलेश्वर नगरपालिकाकै लागि चुनौतीको विषय बन्दै गएको भन्दै अहिले प्लास्टिक जन्य फोहोरसँगै दैनिक जम्मा हुने फोहोरको दिर्घकालिन समाधानको प्रयासमा पालिका लागेको बताए ।