पाकेर पहेँलपुर भएसँगै यतिखेर रामेछापका किसानहरुको जुनार बगैँचाको दृश्य मनमोहक देखिएका छन्।अहिले जुनार बगैँचामा जुनार खरिद गर्ने जाने व्यवसायीहरु बढेका छन् । यतिखेर जुनार बगैँचामा नै पुगेर फोटो र टिकटक बनाउन जाने युवायुवतीहरुको संख्या पनि बढेको छ। यसवर्ष जुनारमा कुनै पनि प्रकारको रोगकीरा नलागेपछि जुनार उत्पादनमा गत वर्षको भन्दा २० प्रतिशतले वद्धि भएको रामेछाप नगरपालिका–६ ओख्रेनीका किसान शेरवहादुर तामाङले जानकारी दिए।
जाडो सिजनमा हुने अमिलो प्रजातीको जुनार किसानको बगैचामा नै प्रतिकेजी ६० रुपैयाँदेखी ८० रुपैयाँसम्ममा विक्री हुने गरेको छ। विगतका वर्षहरुमा ५० देखी ६० रुपैयाँ प्रतिकेजी जुनार बिक्री गरेका किसानहरु यसवर्ष प्रति केजी २० रुपैयाँ मूल्य बढी लिएर बगैँचामा नै बिक्री वितरण गर्दै आएका छन्। किसानहरुले सोही जुनार टिपेर बजारसम्म पुर्याउँदा एकसय रुपैयाँ देखि १२० रुपैयाँ प्रति किलोमा बिक्री गर्दै आएका छन्।
जुनारको जिल्ला भनेर चिनिएको रामेछापमा यो वर्ष किसानहरूले साेचेभन्दा बढी नै उत्पादन भएको छ । रोग किरा नियन्त्रणका लागि अभियान चलाएपछि दाना लागेका जुनार सबै पाकेका छन् । केही वर्षअघिदेखि रामेछापमा फल कुहाउने औंसा कीराको प्रकोपका कारण बगैँचामा पाक्ने समयसम्म जुनार झरेर नास हुने गरेका थिए । थोरै जुनार बोटमा रहे पनि त्यसमा पनि कीरा भेटिन्थ्यो। तर यस वर्ष जुनारमा कुनै पनि रोग नभएकाले जुनार उत्पादनमा बृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापकी नायव प्राविधिक सहायक भवानी बस्नेतले जानकारी दिइन् ।
हाल जिल्लाको रामेछाप नगरपालिका, मन्थली नगरपालिका, दोरम्वा शैलुङ गाउँपालिका, सुनापति गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकामा गरी ६८० हेक्टर क्षेत्रफलमा जुनार खेती गरिदै आएको छ। जसमध्ये प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले भने रामेछाप नगरपालिका, मन्थली नगरपालि र लिखु तामाकोशी गाउँपालिकामा मात्रै जुनार जोन कार्यक्रम सञ्चालन गर्दै आएको छ।
गत वर्षको तुलनामा यसवर्ष जुनारमा वृद्धि भएसँगै प्रति हेक्टर ३० मेक्ट्रिकटनसम्म जुनार उत्पादन भएको सो कार्यालयले जनाएको छ। अमिलो प्रजातीको जुनार, सुन्तला र कागती विक्रीवाट मात्रै रामेछापमा वार्षिक करिब २० करोड रुपैयाँभन्दा बढी रकम किसानहरुले लिने गरेका छन्। उत्पादित जुनार बिक्रीमा कुनै समस्या नरहेको कृषक लालवहादुर तामाङले जानकारी दिए।
उनले भने,‘जुनार उत्पादन मात्रै हुनुपर्यो। बिक्रीका लागि विभिन्न शहरका व्यवसायीहरु जुनार हरियो हुँदै खरिदको लागि किसानको घरघरमा नै आउने गरेका छन्। पहिला बगैचामा किरा लाग्ने र झर्ने समस्या थियो। अहिले त्यो समस्या पुरै हटेको छ। बगैँचाको रेखदेख र जुनारको फुल लाग्दै विषादी र भिटामिन प्रयोग गर्दा अहिले सवै रोग हराएको तामाङ बताउँछन्।