बिएस्सी नर्सिङ विषयको पाठ्यक्रम तयार

बिहिबार, २६ मंसिर, २०८२
डिजिटल संस्करण

कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयले नियमनकारी निकाय चिकित्सा शिक्षा आयोगको निर्देशनअनुसार बिएस्सी नर्सिङ  विषयको पाठ्यक्रम तयार गरेको छ । तयार भएको पाठ्यक्रम चाँडै आयोगबाट स्वीकृत गराएर मनमोहनमा बिएस्सी नर्सिङ  कक्षा आगामी शैक्षिक सत्रदेखि नै सुरु हुनेछ ।

मनमोहन प्राविधिक विश्वविद्यालयले स्कृल अफ मेडिकल एण्ड हेल्थ साइन्सबाट चार वर्षे बिएस्सी नर्सिङ कार्यक्रमका लागि नयाँ पाठयक्रम चिकित्सा सेवा आयोगले तोकेको मापदण्ड अनुसार तयार गरिसकेको हो । पाठक्रमको चिकित्सा शिक्षा आयोगका निर्देशक प्राडा सुजबाबु मरहठाले आफनै उपस्ति भएर निरिक्षण पनि गरिसकेका छन्। 

निर्देशक मरहठाले बुधबार मोरङको बुढीगंगा गाउँपालिका४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा तयार भएको बिएस्सी नर्सिङ पाठक्रमबारे जानकारी दिएर आवश्यक सुझाव दिएका छन् । उनले सबै विश्वविद्यालयहरुले मेडिकल स्वास्थ्य सम्बन्धि सबैखाले पाठयक्रमहरु निर्माण गर्दा चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको मापदण्ड फलो गर्नुपर्ने बताए । 

 डा. महरठाले निर्धक्क लिडरशीप लिनसक्ने, समुदायमा गएर चित्तबुझदो सेवा प्रदान गर्न सक्ने र विरामी र आफन्तहरुलाई मनोविमर्श प्रदान गर्न सक्ने आधारभुत गुण सबै नर्सहरुमा हुनुपर्छ भने।  विश्वविद्यालयहरु स्वास्थ्य कार्यक्रमहरुको पढाई संचालन गर्न गराउन स्वायत्त भएपनि पाठयक्रम निर्माण गर्दा भने आयोगले बनाएको मापदण्डको क्यालेण्डर फलो गर्न जरुरी हुने मरहठाले बताए। निर्देशक मरहठाले भने,‘मनमोहनले जस्तै चिकित्सा शिक्षा आयोगको मापदण्ड सबै विश्वविद्यालयले फलो गर्नैपर्छ किनकी उत्पादन भएका स्वास्थ्य जनशक्त्तिहरुको आधारभुत ज्ञानको गुण एउटै हुन सकोस । ’ 

मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले निर्माण भएको पाठयक्रम चिकित्सा शिक्षा आयोगको आधारभुत मापदण्ड अनुसार भएकोले चाँडै आयोगबाट स्विकृत लिएर चार वर्षे  विएससी नर्सिङगको पढाई आगामी शैक्षिकसत्र देखी सञ्चलान गराउने बताए। उपकुलपति पोखरेलले भने,‘हामीलाई माघभित्रमा कोशी सरकारले धनकुटा अस्पताललाई शिक्षण अस्पतालका लागि हस्तान्तरण गरिसक्छ हामी  अगामी बैसाखदेखी बिएस्सी नर्सिङको पढाइ सञ्चालन गराउनेछौ । ’

मनमोहनले तयार गरेको बिएस्सी नर्सिङको पाठयक्रम बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नर्सिङ सेवा विज्ञ डा. रामशरण मेहता र विराटनगर नर्सिङ क्याम्पस प्रमुख मेनुका भण्डारीसहितको विज्ञहरुको टिमले तयार गरेको हो । 

सुझावित समाचार