नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एनपिएलमा समग्रमा पाँच सय रन पूरा गरेका छन् । लुम्बिनी लायन्सका कप्तान पौडेल पाँच सय रन पूरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान हुन् । समग्रमा उनले एनपिएलमा ५०५ रन बटुलेका छन् । उनले दोस्रो संस्करणको एनपिएलअन्तर्गत बुधबार काठमाडौं गोर्खाजविरुद्ध १८ रन जोडेका थिए । पहिलो संस्करणमा उनले सात इनिङ्समा २७९ रन जोडेका थिए ।
चालू संस्करणमा पौडेलले आठ खेलमा २२६ रन बटुलेका छन् । यसपटक उनले एकपटक पनि अर्धशतकीय इनिङ्स खेलेका छैनन् । यसपालि उनले कर्णाली याक्सविरुद्ध ४९ रनको सर्वाधिक योगदान दिएका थिए । पौडेलले सुदूरपश्चिमविरुद्ध ३५, पोखराविरुद्ध ४० तथा जनकपुर बोल्ट्सविरुद्ध ३५ रन जोडेका थिए ।
चालू एनपिएलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी पाँचौँ स्थानमा छन् । शीर्ष स्थानमा पोखराका एडम रोसिंटनले सात खेलमा एक शतक तथा दुई अर्धशतकको सहयोगमा ३२३ रन जोडेका छन् । दोस्रो स्थानमा सुदूरपश्चिमका विनोद भण्डारीले २६४ रन बनाएका छन् । रोहितसमक्ष सर्वाधिक रन बनाउने अवसर पनि छ । दोस्रो क्वालिफायरमा जित निकाले लुम्बिनीले फाइनल खेल्ने अवसर पाउनेछ । यस्तोमा रोहितलाई दुईपटक ब्याटिङ गर्ने मौका हुनेछ ।
रोसिंटनलाई उछिन्न रोहितलाई ९७ रन तथा विनोदको दोस्रो स्थान पाखा लगाउन २७ रन जोड्नुपर्छ । पहिलो संस्करणमा रोहितले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे पनि एक खेलमा मात्र जित निकाली लुम्बिनी तालिकाको पुछारमा रहेको थियो । चालू सिजनमा ब्याटिङमा मात्र नभएर बलिङमा समेत लुम्बिनीको जितमा पौडेलले योगदान दिएका छन् । उनले अहिलेसम्म चार खेलमा बलिङ गर्दै समग्रमा सात विकेट हात पारेका छन् । काठमाडौंसँगको खेलमा उनी दुवैपटक विकेट लिन सफल भए । लिग चरणमा उनले ९ रन खर्चेर दुई तथा इलिमिनेटरमा २५ रन दिएर तीन विकेट हात पारे ।
विनोदलाई १ रन आवश्यक
पहिलोभन्दा दोस्रो संस्करणमा तुलनात्मक रूपमा नेपाली ब्याट्सम्यानको ब्याटबाट रन आइरहेको छ । सर्वाधिक रन बनाउने शीर्ष पाँचमध्ये दुई खेलाडी घरेलु छन् । सुदूरपश्चिमका विकेटकिपर ब्याट्सम्यान विनोदलाई पाँच सय रन बनाउन केवल १ रन मात्र आवश्यक छ । समग्रमा उनले एनपिएलमा १७ खेलमा ४९९ रन बनाएका छन् । उनले दोस्रो एनपिएलको फाइनलमा पूरा गर्न सक्छन् । सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा पुगेको छ । विनोदले पहिलो संस्करणमा नौ खेलमा नौ इनिङ्स ब्याटिङ गर्दै २३५ रन बनाएका थिए । त्यसवेला उनी धेरै रन बनाउने सूचीको छैटौँ स्थानमा थिए ।
गत संस्करणमा उनले एक अर्धशतकीय इनिङ्स खेलेका थिए । यसपालि उनले दुई अर्धशतक लगाएका छन् । दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि सानदार जित निकाल्दा विनोदले धैर्यपूर्वक ब्याटिङ गरी ६३ रनको योगदान दिएका थिए । उनले लिग चरणमा लुम्बिनीविरुद्धको खेलमा ६९ रनको नटआउट इनिङ्स खेले ।