बलात्कारमा परेकी १३ वर्षीया बालिकालाई न्याय दिलाउनुको सट्टा उल्टै पीडकसँग पैसा लिएर घटना लुकाउन भूमिका खेलेको आरोपमा प्रहरीले एमाले नेता शिवशंकर साह (हिरा) र उनका भाइ मनोज साहलाई पक्राउ गरेको छ । मनोज यसअघि नै काठमाडौंबाट पक्राउ परेकामा शिवशंकरलाई मंगलबार भारतको बिहार सीतामढीबाट पक्राउ गरेर राति नै धनुषा ल्याइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गणेशबहादुर बमले बताए ।
जनकपुरको जानकी चोकस्थित एउटा होटेलमा बन्धक बनाई २२ कात्तिकमा बालिकामाथि बलात्कार भएको थियो । त्यसको भोलिपल्ट बिहान पीडित बालिकालाई हजुरबुवाले उद्धार गरी घर लगेका थिए । उक्त घटना गुपचुप पार्न ३० लाखको डिल भएको र त्यसमा साह दाजुभाइ संलग्न रहेको स्रोतले बतायो । सुरुमा बालिकाका आमालाई प्रहरीमा जाहेरी नदिन दबाब दिएर आर्थिक प्रलोभनमा मिलापत्र गर्न खोजेका थिए । त्यसपछि प्रहरीले पीडित बालिका र उनकी आमालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । प्रहरीले अनुसन्धान थालेपछि साह दाजुभाइ फरार भएका थिए । अहिले पीडित बालिका सेभ हाउसमा छिन् भने आमा प्रहरी नियन्त्रणमै छिन् ।
धनुषाका प्रहरी प्रमुख एसपी रुगमबहादुर कुँवरको नेतृत्वमा विशेष निगरानी बढाएर अनुसन्धान अघि बढाइएको थियो । केही राजनीतिक दबाब आए पनि प्रहरीले घटनाको तहसम्म पुगेर दोषीलाई पक्राउ गर्न सफल भएको स्रोतको दाबी छ । घटनामा अन्य दुईजना संलग्न रहेको आशंकामा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पीडितले जाहेरीसमेत दर्ता गराइसकेकी छिन् ।
पक्राउ परेका शिवशंकर गत स्थानीय तह निर्वाचनमा एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरका उम्मेदवार थिए । उनी जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा मधेश प्रदेश उद्योग वाणिज्य संघका संस्थापक अध्यक्षसमेत हुन् । उनी एमालेको ११औँ महाधिवेशनका लागि धनुषा क्षेत्र नम्बर– ३ का प्रतिनिधि पनि हुन् ।