उमेरहदका कारण सेवानिवृत्त गोरखास्थित एक सरकारी विद्यालयका हेडसरलाई हेलिकोप्टर चार्टर गरी स–सम्मान बिदाइ गरिएको छ ।
गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माविमा ३८ वर्षको अध्यापनपछि उमेरहदका कारण अनिवार्य अवकाश पाएका शिक्षक इन्द्रबहादुर उपरकोटीलाई हेलिकोप्टर चार्टर गरी घरसम्म पुर्याइको हो। विद्यार्थी एवं पूर्वविद्यार्थीले आवश्यक रकम संकलन गरी हेलिकोप्टरमा शिक्षक उपरकोटीलाई घर पुर्याएका हुन्।
उपरकोटीको बिदाइका लागि मंगलबार विद्यालयपरिसरमा भव्य समारोह आयोजना गरिएको थियो। सो अवसरमा उनलाई सहकर्मी शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, स्थानीयलगायतले फूलमाला, खादा लगाएपछि हेलिकोप्टरमा राखेर घर पुर्याएका थिए। उत्तरी गोरखामा पर्ने विद्यालयबाट हेलिकोप्टरमा चढाएर शिक्षक उपरकोटीलाई काठमाडाैं लगेर काठमाडौंबाट जहाजमार्फत चितवनको भरतपुर विमानस्थलसम्म र त्यसपछि भरतपुरस्थित घरमा पुर्याइएको हो। उनको घर गोरखाको नारेश्वर भए पनि परिवारका सदस्यहरू भरतपुर बस्ने भएकाले उहीसम्म पुर्याउने व्यवस्था मिलाइएको हो।
दुर्गम स्थानमा बसेर आफ्नो जिम्मेवारी पूरा गरेर स्थानीय भुइँ मान्छेलाई आकाशमा उड्न सिकाएको भन्दै उपरकोटीलाई उनकै विद्यार्थी एवं पूर्वविद्यार्थीले अथाह माया, सम्मान र प्रेमपुर्वक बिदाइ गरेका हुन्। गुरुप्रति विद्यार्थीले देखाएको यो सम्मानको दृश्यले उपस्थित सबैलाई भावुक बनाएको थियो।
बिदाइपछि उपरकोटीले आफूले यस प्रकारको सम्मान पाउँछु भनेर कहिल्यै कल्पना नगरेको बताएका थिए। उनले भने, ‘मैले जुन सम्मान र माया पाएँ, यस्तो होला भनेर कल्पना गरेको थिइनँ, कतै यस्तो भएको सुनेको पनि थिइनँ। तर, नसोचेको माया र सम्मान पाएँ। यसबाट म अत्यन्तै खुसी छु।’