जेन–जी प्रदर्शनको क्रममा निर्वाचन आयोग क्षति हुनबाट जोगाउन सफल भएकोमा सशस्त्र प्रहरी बल, नेपाल नं.२४ बाघभैरब गुल्म काठमाडाैंलाई निर्वाचन आयोगले सम्मान गरेको छ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त माननीय रामप्रसाद भण्डारीले बुधबार तत्कालीन सशस्त्र प्रहरी बल, नेपाल नं.२४ बाघभैरब गुल्म तथा गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश कोइरालालाई सम्मान गरेका हुन्। सशस्त्र प्रहरी बल, नेपालले आयोगको सुरक्षामा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेकोमा धन्यवादसमेत दिएको छ।
गत भाद्र २४ गतेको जेन–जी आन्दोलनमा काठमाडौं महानगरपालिका– २७, कान्तिपथस्थित निर्वाचन आयोगको कार्यलयमा तोडफोड र आगजनीको प्रयास भएपछि तत्कालीन गुल्मपति रहेका डिएसपी कोइरालाको कमान्डमा खटिएको टोलीले प्रदर्शनकारीहरूलाई अगाडि बढ्न नदिई मुख्य गेटको केहीभित्र रोकी सम्झाइबुझाई गरेको थियो । त्यति गर्दासमेत भिड थप आक्रोशित भएपश्चात् उक्त टोलीले सामान्य बल प्रयोग गरी भिडलाई तितरवितर पारेर उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिई आयोग क्षति हुनबाट जोगाएको थियो। आन्दोलनमा काठमाडौंका अन्य महत्वपूर्ण सरकारी संरचना जलेका थिए।
निर्वाचन आयोगपरिसरमा रहेको र हालै गणमा स्तरोन्नति भएको सशस्त्र प्रहरी बल, नेपाल नं.१८ बाघभैरब गणले फाल्गुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई मध्यनजर गर्दै निर्वाचनसम्बन्धी दल दर्ता, दल दर्ता प्रमाण–पत्र वितरणलगायतका विभिन्न गतिविधि एवं आयोगपरिसरको निरन्तर रूपमा सुरक्षा प्रदान गर्दै आइरहेको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी मनीष थापाले बताए।