काठमाडौंले दियो लुम्बिनीलाई ११२ रनको लक्ष्य

बुधबार, २५ मंसिर, २०८२
डिजिटल संस्करण
काठमाडौंले दियो लुम्बिनीलाई ११२ रनको लक्ष्य

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत बुधबार इलिमिनेटर चरणमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध ११२ रनको लक्ष्य दिएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंले लुम्बिनीको कसिलो बलिङ सामना गर्न नसक्दा कमजोर प्रदर्शन गरेको हो।

पहिलो ब्याटिङ गरेको काठमाडौंले १९.१ ओभरमा सवै विकेट गुमाएर १११ रन जोड्याे। लिग चरणमा लगातार चार खेल जित्दै प्ले अफ स्थान पक्का गरेको काठमाडौं पहिलोपटक ब्याटिङमा फितलो देखियो।

लुम्बिनीका लागि कप्तान रोहित पौडेल तथा शेर मल्लले घातक बलिङ गरे। उनीहरुले समान तीन विकेट लिँदा बलियो ब्याटिङ लाइनअप भएको काठमाडौंको ओपनिङ र मध्यक्रमका ब्याट्सम्यान निरिह देखिए। काठमाडौंले शीर्ष चार ब्याट्सम्यान गुमाउँदा स्कोर बोर्डमा १४ रन जोडेको थियो। इनिङ्सको ४.१ ओभरमा काठमाडौं १४–४ को दयनीय अवस्थामा थियो। बेन चार्लवेथ (४), आकाश त्रिपाठी (१), सनी पेटल (७) र मिलिन्द कुमारले (२) रनको योगदान दिए ।

भीम सार्की र जोन सिम्पसनले पाँचौँ विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए। तर इनिङ्सको ९.१ ओभरमा भीमले आफ्नो विकेट गुमाउँदा लुम्बिनी फेरि एकपटक काठमाडौंमाथि हावी भयो। भीमले १६ बलमा एक छक्काको सहयोगमा १४ रनको योगदान दिए। लुम्बिनीका कप्तान रोहितले भीमलाई आउट गरेकै ओभरमा जोनको पनि विकेट लिए । इनिङ्सको ९.५ ओभरमा रोहितले जोनलाई १८ रनमा पेभेलिन पठाउँदा काठमाडौं ५२–७ को स्थितिमा रह्यो । जोनले १७ बलमा समान एक चौका र छक्का प्रहार गरेका थिए ।

रसिद खानले दुई रन तथा मोहमद आदिलले ११ बलमा दुई छक्का र एक चौकाको सहयोगमा १८ रन जोडेका थिए । एनपिएलको अक्सनमा महगा खेलाडी बनेका आदिल १३।२ ओभरमा सेर मल्लबाट बोल्ड भएका थिए । त्यसबेला सम्म काठमाडौंले आठ विकेट गुमाएर स्कोर बोर्डमा ७२ रन जोडेको थियो । कप्तान करण केसी उनले १४ बलमा नौ रन जोडे ।

मध्यक्रमका ब्याट्सम्यान सन्तोष यादवले लुम्बिनीको बलियो बलिङ आक्रामणको डटेर सामना गरेका थिए । तर उनलाई विकेटको अर्को छेउबाट अन्य ब्याट्सम्यानले गतिलो साथ दिन सकेनन् । अन्तिम विकेटका रुपमा आउट भएका सन्तोषले १७ बलमा २३ रनको योगदान दिए । लुम्बिनीका लागि सेर र रोहितले समान तीन विकेट हात पारे ।

सुझावित समाचार