काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले बुधबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा इलिमिनेटर चरणमा प्रतिस्पर्धा गर्दै छ । दुवै टोलीलाई यो खेल गर या मरको अवस्थामा छ । पराजित हुने टोली उपाधि दौडबाट बाहिरिनेछ । विजेता टोलीले बिहीबार क्वालिफायर वानमा पराजित विराटनगर किंग्सविरुद्ध फाइनल प्रवेशका लागि खेल्नेछ । काठमाडौं र लुम्बिनी पहिलोपटक शीर्ष चारमा रहँदै प्लेअफमा पुगेका हुन् ।
लिग चरणमा काठमाडौं १० अंकका साथ तेस्रो र आठ अंक जोडेको लुम्बिनी चौथो भएको थियो । झिनो रनरेटका कारण काठमाडौं विराटनगरसँग चुकेको थियो । लुम्बिनीले भने आफ्नो लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्समाथि चार विकेटको जित निकाली पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । लुम्बिनीको यस जितले प्लेअफ दौडमा रहेका चितवन राइनोज, पोखरा एभेन्जर्स तथा जनकपुर एकैपटक बाहिरिए । पछिल्ला खेलमा काठमाडौं उत्कृष्ट फर्ममा छन् । काठमाडौंले लगातार चार खेलमा जित निकाली प्लेअफ स्थान पक्का गरेको थियो ।
काठमाडौले ती चारै खेलमा ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो । ब्याटिङ र बलिङ इनिङ्समा काठमाडौंले विपक्षीलाई आफूमाथि हाबी हुन अवसर प्रदान गरेको छैन । काठमाडौंले लुम्बिनीविरुद्धको खेलमा यसै पक्षलाई निरन्तरता दिने प्रयासमा हुनेछ । यदि काठमाडौंले जितको शृंखला जारी राख्दा लुम्बिनीलाई गाह्रो हुन सक्छ । राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले लिग चरणका अन्तिम तीन खेलमा बाजी मारेको थियो । पहिलो खेलमा चितवनमाथि ६ विकेटको सानदार जित निकालेको लुम्बिनी त्यसपछि काठमाडौं, कर्णाली याक्स तथा सुदूरपश्चिमसँग पराजित हुँदा प्लेअफ दौड कमजोर बनेको थियो । लिग चरणको आफ्नो पाँचौँ खेलबाट लुम्बिनीले उत्कृष्ट पुनरागमन गर्यो ।
एक किसिमले काठमाडौं र लुम्बिनी लिग चरणमा उत्कृष्ट पुनरागमन गरेका टोली हुन् । दुवैले प्रत्येक खेलमा सुधारिएका प्रदर्शन गरेका छन् । लुम्बिनीका कप्तान रोहित रन बनाउने क्रममा अगाडि छन् । काठमाडौंका कप्तान करण केसी पनि फर्ममा छन् । काठमाडौं र लुम्बिनीसँग स्तरीय फास्ट र स्पिन बलर रहँदा त्रिविको पिचमा प्रतिस्पर्धा रोमाञ्चक बन्नेछ । पहिलो तथा दोस्रो एनपिएलमा काठमाडौंले लुम्बिनीलाई दुईवटै खेलमा हराएको छ । काठमाडौंका करणले यी दुवै खेलमा उत्कृष्ट बलिङ गरेका थिए ।
प्लेयर्स टु वाच
करण केसी (काठमाडौं)
मार्की खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गरिरहेका थोरै खेलाडीमा करण पर्छन् । उनले काठमाडौंलाई पहिलोपटक प्लेअफमा पुर्याउन बलिङमा एकनासको खेल देखाएका छन् । ब्याटिङमा उनले लुम्बिनीविरुद्धको महत्वपूर्ण लिग खेलमा विस्फोटक ब्याटिङ गर्दै ३४ रन जोडेका थिए । ब्याटिङ र बलिङमा समान योगदान दिन सक्ने यी खेलाडीले इलिमिनेटर खेलमा लुम्बिनीविरुद्ध प्रभावशाली प्रदर्शन गर्न सक्छन् । उनले चालू एनपिएलमा १२ विकेट लिएका छन् ।
साहब आलम (काठमाडौं)
चालू एनपिएलमा सहाबले एउटा रेकर्ड आफ्नो नाममा राखेका छन् । दोस्रो संस्करणको एनपिएलमा ह्याट्रिक लिने तथा एकै खेलमा ६ विकेट हात पार्ने उनी मात्र एक्ला बलर हुन् । पोखरा एभेन्जर्सविरुद्धको प्रतिस्पर्धामा उनले ह्याट्रिकसँगै ६ विकेट लिएका थिए । सो खेलमा उनले २५ रन खर्चेका थिए । सहाबले आफ्नो स्पिनमा विपक्षी बलरलाई सहजै पेभेलियन फर्काएका छन् । सहाबको विशेषता नै पहिलो तथा दोस्रो इनिङ्समा ब्याट्सम्यानलाई संकटमा राख्न सक्छन् ।
रोहित पौडेल (लुम्बिनी)
लुम्बिनीलाई पहिलोपटक प्लेअफ स्थान सुरक्षित गराउनमा रोहितको कुशल कप्तानी मान्नुपर्छ । लगातार तीन खेल गुमाइसकेको अवस्थामा लुम्बिनीलाई शीर्ष चारको स्थान सुरक्षित गराउँदा उनले ब्याटिङ राम्रो योगदान दिएका थिए । रोहित सर्वाधिक रन बनाउने सूचीको छैटौँ स्थानमा छन् । उनले सात खेलमा २३७ रन जोडेका छन् । रोहितले मध्यक्रममा ब्याटिङ इनिङ्स सम्हालिएर साझेदारीमा राम्रो योगदान दिइरहेका छन् ।
डार्सी सट (लुम्बिनी)
लुम्बिनीले प्लेअफ स्थान सुरक्षित गर्दा ओपनर डार्सीको योगदान बिर्सन मिल्दैन । लुम्बिनीका लागि अन्तिम दुई खेल विराटनगर र जनकपुरविरुद्ध महत्वपूर्ण थियो । यी दुईमध्ये एक खेल गुमाउँदा लुम्बिनी लिग चरणबाटै बाहिरिने अवस्थामा थियो । ओपनर डार्सीले जनकपुर र विराटनगरविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले विराटनगरसँगको खेलमा ५७ रन तथा जनकपुरविरुद्ध ३० रनको योगदान दिँदै लुम्बिनीलाई जित दिलाए । उनी आक्रामक हुँदा लुम्बिनीले ओपनिङमा राम्रो सुरुवात गरेको देखिन्छ ।