क्यान्सर परीक्षणमा आवश्यक आइसोटोप अब नेपालमै उत्पादन गरिने

क्यान्सर पत्ता लगाउन भारतसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा

बुधबार, २५ मंसिर, २०८२
डिजिटल संस्करण
आइसोटोप उत्पादन गर्ने मेसिन साइक्लोट्रोन

क्यान्सर रोग पत्ता लगाउन गरिने परीक्षणमा नभइनहुने रेडियोधर्मी आइसोटोप अब नेपालमै उत्पादन गरिने भएको छ । आइसोटोप उत्पादनका लागि चाहिने साइक्लोट्रोन उपकरण जडान गर्ने योजना अघि सारिएको छ । नेपालमा आइसोटोप उत्पादन नहुने भएकाले हाल भारतबाट ल्याएर डाइग्नोसिस तथा परीक्षण गर्ने गरिएको छ । कतिपयले यहाँ सहज नभएकाले भारतमै गएर क्यान्सर डाइग्नोसिससमेत गर्ने गरेका छन् । अब भने त्रिवि शिक्षण अस्पताल र निजामती अस्पतालमा रेडियोधर्मी पदार्थ आइसोटोप उत्पादन गर्ने साइक्लोट्रोन उपकरण राख्न लागिएको हो । 

उपकरण राख्न मिल्ने वा नमिल्ने अवस्थाका बारेका शिक्षामन्त्री महावीर पुनले मंगलबार दुईवटै अस्पताल पुगेर अवलोकन गरे । ‘भविष्यमा क्यान्सर उपचारका लागि चाहिने साइक्लोट्रोन राख्न के–कस्तो व्यवस्था छ भनेर अवलोकनका लागि आएको हुँ, त्यसको अध्ययन पनि भयो, अब यहाँ साइक्लोट्रोन राख्न मिल्छ,’ निजामती अस्पताल पुगेका मन्त्री पुनले भने, ‘साइक्लोट्रोन भनेको क्यान्सर पत्ता लगाउन गरिने परीक्षणमा प्रयोग हुने औषधि उत्पादन गर्ने मेसिन हो, जसलाई आइसोटोप भनिन्छ, साइट हेरेर जहाँ सहज हुन्छ त्यहीँ राखिनेछ, त्रिवि शिक्षण अस्पतालमा पनि साइक्लोट्रोन राख्न सकिने रहेछ ।’ 

निजामती अस्पतालका निर्देशक डा.मोहनचन्द्र रेग्मीले साइक्लोट्रोन ल्याएर कच्चा पदार्थ यहीँ उत्पादन गर्दा विरामीलाई निकै राहत हुने बताए । ‘नेपालमा साइक्लोट्रोन मेसिन नहुँदा आइसोटोप भारतबाट ल्याउनुपर्ने अवस्था छ, यसो हुँदा निकै महँगो पर्छ । नेपालमा २० हजारमा हुने परीक्षण भारतमा जाँदा एक लाख खर्च हुन्छ,’ उनले भने, ‘साइक्लोट्रोन मेसिनबाट सीमित अस्पतालले आइसोटोप उत्पादन गरेर क्यान्सर स्क्यानका लागि पठाउने हो, सबै अस्पतालहरूले यो उत्पादन गर्न सक्दैनन् । हाल दिल्लीबाट आइसोटोप ल्याउने गरिएको छ, यसो हुँदा बिरामीलाई पनि निकै महँगो हुन्छ, बाहिरबाट ल्याउँदा बिरामीलाई असहज हुने र यहाँसम्म ल्याउँदा त्यसको गुणस्तरीयता पनि घट्ने, त्यसैले यहीँ उत्पादन गर्नुपर्छ भन्ने हो ।’ 

रेग्मीका अनुसार नेपालमै उत्पादन भएपछि आइसोटोप अन्य अस्पतालमा पनि उपलब्ध गराइनेछ । यो औषधि सीमित बिरामीलाई चाहिने भएकाले दुईवटा अस्पतालमा उत्पादन गर्न सकिएमा नेपालभर उपलब्ध गराउन सकिने उनले बताए । साइक्लोट्रोन उपकरणको मूल्य डेढ अर्ब पर्छ । सरकारले प्रक्रिया अघि बढाए विदेशी सहयोगी दाताले यो उपचार दिन पनि तयार रहेको निर्देशक रेग्मीले बताए । 

हाल नेपालमा क्यान्सरको दर पनि बढ्दो छ । कतिपय बिरामीलाई क्यान्सर पत्ता लगाउन निकै भौँतारिनुपर्ने बाध्यता छ । तर, नेपालमै कच्चा पदार्थ उत्पादन हुने भएपछि बिरामीलाई सहज हुनेछ । ‘क्यान्सरको डाइग्नोसिसका लागि यो कच्चा पदार्थ चाहिन्छ । कच्चा पदार्थ सहज भएपछि र सस्तो भएपछि क्यान्सर पनि समयमै पत्ता लगाउँछन्, आफैँमा जटिल मानिने क्यान्सर रोग पत्ता लगाउनमै बिरामीले ठुलो रकम खर्च गर्ने गरेका छन्, त्यसैले यहाँ उत्पादन गर्न लागिएको हो,’ रेग्मीले भने, ‘क्यान्सर भए–नभएको थाहा पाउन विभिन्न स्क्यान गरिन्छ, हाल हुनेखानेहरू विदेशमै गएर जाँच गराउँछन्, सर्वसाधारणलाई कठिन छ ।’ कहिलेदेखि उपकरण जडान गरेर सञ्चालनमा ल्याइने भन्ने यकिन छैन । स्वास्थ्य मन्त्रालयसँग यसबारे थप छलफल गरिने भएको छ । 

डा. उज्ज्वल चालिसेले नेपालमा ‘पेट स्क्यान’ (पोजिट्रोन एमिसन टोमोग्राफी) सहज नभएको बताए । उनले मुख्यत: यसको औषधि उत्पादन नभएर समस्या भएको बताउँदै उत्पादन थाल्नुपर्ने बताए । ‘पेट स्क्यान विषेष खालको स्क्यान हो । शरीरभरि क्यान्सरको अवस्था पत्ता लगाउन यो स्क्यान गरिन्छ, यसले कुन भागमा कति क्यान्सर छ भन्ने थाहा हुन्छ,’ उनले भने, ‘पेट स्क्यान नहुनुको मुख्य कारण औषधि नहुनु हो । यसको औषधि बनाएको छोटो समयमै प्रयोग गर्नुपर्छ । नेपालमा उत्पादन भए प्रयोग गर्न छिटो र सजिलो हुन्छ । क्यान्सर अस्पतालमा यो अनिवार्य नै चाहिन्छ अहिले थुप्रै बिरामी यो परीक्षणबाट वञ्चित छन् ।’ 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार यो उपकरणमा प्रयोग गरिने कच्चा पदार्थ नेपालमा उत्पादन छैन । सरकारी अस्पतालमा उपकरणसमेत छैन । त्यसैले सरकारले चालू आवको बजेटमा  योजना समेटेको छ । स्वास्थ्य मन्त्रालयको बजेटअन्तर्गत उपकरण खरिदको योजनालाई राखिएको छ । ‘उपकरण खरिदका लागि सरकारले दिएको स्वास्थ्यको बजेट रकमान्तर गरेर शिक्षा मन्त्रालयमा लैजान सकिन्छ,’ उनले भने, ‘रेडियोधर्मी प्रविधि भएकाले पनि शिक्षाले किन्नुपर्छ भनेर शिक्षामन्त्रीज्यूले भन्नुभएको छ, जसले किने पनि चलाउने स्वास्थ्य मन्त्रालयले हो ।’ उनका अनुसार यो उपकरण सरकारी क्यान्सर अस्पतालमा राख्ने कि अरुमा राख्ने भन्ने छलफल चलिरहेको छ । 

पेट स्क्यानका लागि चाहिने कच्चा पदार्थको म्याद छिटोछिटो सकिन्छ । त्यसैले भारतबाट ल्याएर प्रयोग गर्न कठिन छ । यहीँ उत्पादन भए निकै सहज हुने प्रवक्ता बुढाथोकीले बताए । ‘नेपालमै ल्याब भए धेरै सहज हुन्छ । ‘पेट स्क्यान’ गर्न धेरै मानिस भारत र थाइल्यान्ड जाने गरेका छन्,’ उनले भने, ‘केही निजीमा पेट स्क्यानको सेवा छ, तर कच्चा पदार्थ भारतबाट ल्याउनुपर्छ, यो स्क्यानले क्यान्सर शरीरमा फैलिएको छ वा छैन थाहा पाउन सकिन्छ । क्यान्सर सेलको बारेमा जाँच्न यो बढी प्रभावकारी मानिन्छ ।’ यसबाहेक वीर अस्पतालमा जडान गरिएको टोमोथेरापीले पनि क्यान्सरका विरामीलाई पछिल्लो समय राहत मिलेर बुढाथोकीले बताए ।

नेपालमा बर्सेनि थपिन्छन् क्यान्सरका ३० हजार नयाँ बिरामी
नेपालमा हरेक वर्ष क्यान्सरका ३० हजार नयाँ बिरामी पहिचान हुने गरेका छन् । भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार ३० हजार क्यान्सरका विरामीमध्ये १५ हजारलाई पेट स्क्यान गर्नुपर्छ । कतिपय अवस्थामा एउटै विरामीलाई पनि पटकपटक पेट स्क्यान गर्नुपर्ने उनले बताए । तर हाल नेपालमा पेट स्क्यान सेवा सहज रूपमा उपलब्ध नभएकोले परीक्षण गर्न सकिएको छैन ।

सुझावित समाचार