जेन–जी आन्दोलनमा सरकारी कार्यालय आगजनी गर्ने १० जना पक्राउ

बुधबार, २५ मंसिर, २०८२
डिजिटल संस्करण

कैलालीमा सरकारी कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले हालसम्म १० जनालाई पक्राउ गरेको छ । गत २४ भदौमा जेन–जी आन्दोलनका क्रममा कैलाली जिल्ला अदालत र जिल्ला कारागारमा आगजनी तथा तोडफोड गरेको आरोपमा विभिन्न मितिमा १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार कैलाली जिल्ला अदालतमा आगजनी गरेको आरोपमा ६ जना र कारागारमा आगजनी तथा तोडफोड गरेको आरोपमा चारजनालाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ परेकाहरूविरुद्ध आपराधिक उपद्रव मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र जोशीले बताए ।

आगजनीमा संलग्नको पहिचान गरी कारबाहीको माग गर्दै सम्बन्धित कार्यालयले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको जोशीले बताए । जिल्ला प्रहरी कार्यालयका अनुसार सिसिटिभी फुटेजका आधारमा आगजनीमा संलग्न १० जनाको पहिचान गरिएको हो । जेन–जी आन्दोलनका वेला २४ भदौमा कैलालीमा एक सय तीनवटा सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको जिल्ला प्रशासनको तथ्यांक छ । राजनीतिक दलका पार्टी कार्यालयमा पनि तोडफोड र आगजनी गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले सिसिटिभी फुटेज आदिका आधारमा आन्दोलनका वेला विभिन्न निकायमा आगजनी गर्नेको प्रहरीले पहिचान गरिरहेको बताए । प्रहरी उपरीक्षक चन्दका अनुसार जिल्ला कारागार, अदालत र जिल्ला सरकारी वकिलको कार्यालयले आगजनी गर्नेलाई कारबाहीको माग गर्दै जाहेरी दिएका छन् । अरू निकायले भने जाहेरी दिएका छैनन् ।

आन्दोलनका क्रममा कैलाली जिल्ला अदालतमा आगजनी गरिँदा करिब ३० हजार मुद्दाका मिसिल जलेर खरानी भएका थिए भने आगजनीबाट कार्यालयमा पाँच करोड रुपैयाँबराबरको भौतिक क्षति भएको थियो । त्यस्तै, आन्दोलनकारी कारागार प्रवेश गरेर तोडफोड गर्नुका साथै कैदीबन्दीलाई बाहिर निकालेका थिए । आन्दोलनकारी प्रवेश गरेपछि कैलाली कारागारबाट ६ सय ६६ जना कैदीबन्दी निस्किएका थिए । 

See More On

सुझावित समाचार