तुलसीपुरमा पछिल्लो एक सातामा दुईवटा सिनेमा हल सिलान्यास भएको छ । यहाँका दुई सिनेमा हल बन्द भएपछि साविकको राप्ती अञ्चल सदरमुकाम तुलसीपुर सिनेमा हलविहीन बनेको थियो । यही सून्यतालाई पूर्णता दिन १९ मंसिरमा सुविधासम्पन्न आधुनिक सिनेमा हल निर्माणका लागि सिलान्यास गरिएको थियो । दाङको नारायणपुरमा रहेको भिएफएक्स सिनेमा हलले तुलसीपुरमा सुविधासम्पन्न हल निर्माण सुरु गरेको हो ।
नारायणपुरमा जस्तै सुविधासम्पन्न हल बनाउने र उच्चस्तरीय प्रविधि जडान गरिने, भिडियो क्वालिटी र साउन्ड सिस्टम समेत उच्चस्तरीय प्रयोग हुने निर्माण कम्पनी सिनेमा वर्ल्डका अध्यक्ष अरुण रिजालले बताए । तुलसीपुर–६ स्थित कराई इभेन्टसँग जोडिएको जग्गामा हल निर्माण सुरु गरिएको हो । दुईवटा पर्दामा ५०० सय सिट क्षमताको रहने छ । आगामी ०८३ को दसैंबाट फिल्म प्रदर्शन गरिने लक्ष्य रहेको उनले बताए ।
त्यसको चार दिनपछि आज तुलसीपुर–६ को बरुवागाउँस्थित गोरखा सेकेन्डरी स्कुलको छेउमा क्युएफएक्स सिनेमा हलको समेत सिलान्यास गरिएको छ । अनिल बुढाथोकी र वसन्त लम्सालले संयुक्त रुपमा करिब २२ करोड रुपैयाँ लागतमा सिनेमा हल निर्माण सुरु गरेका हुन् । उनीहरूले पनि आगामी दसैंमा सिनेमा हल सञ्चालन गर्ने लक्ष्य राखेको बताएका छन् । तुलसीपुरमा आधुनिक सिनेमा हल नहुँदा नारायाणपुर, घोराही जानुपर्ने अवस्था थियो ।