विद्यार्थीमा बढ्दो लागुऔषध दुर्व्यसन रोक्न जोड

मंगलबार, २४ मंसिर, २०८२
डिजिटल संस्करण

बेरोजगारी, चेतनाको अभावलगायत कारणले पछिल्लो समय युवा विद्यार्थीमा बढ्दै गएको लागूऔषध ओसारपोसार र दुव्र्यसन रोक्न हातेमालो गरिनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । 

लागूऔषधको ओसारपोसार, दुर्व्यसनमा प्रायः युवा विद्यार्थी फस्दै गएकाले त्यसले समाज र शिक्षामाथि पारेको नकारात्मक प्रभाव पारिरहेको भन्दै सरोकारवालाहरुले त्यसलाई रोक्न सामूहिक प्रयासको खाँचो औंल्याए ।

लागूऔषध ओसारपोसारमा युवा विद्यार्थीको संलग्नता र दुर्व्यसनले समाजमा विभिन्न खालका अपराध, हिंसा र मानसिक समस्या जटिल बन्दै गएकोमा उनीहरुले त्यसले मुलुकको भावी जनशक्तिको भविष्य नै जोखिममा पारिरहेको बताए । 

सिरहाको लहानस्थित ग्लोबल एसएस कलेजको आयोजनामा मंगलबार कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागत कार्यक्रममा वक्ताहरुले विद्यार्थीलाई लागूऔषधको ओसारपोसार र दुव्र्यसनको दुष्चक्रबाट निकाल्न सम्बन्धित परिवार, समुदाय, शिक्षा क्षेत्र र सरकारी संयन्त्रबीच समन्वय थप सुदृढ गरिनु पर्नेमा जोड दिएका हुन् । कार्यक्रममा प्याब्सन सिरहाका अध्यक्ष उमेश चौधरीले युवामा लागूऔषध दुव्र्यसनको प्रभाव तीव्र रुपमा देखिन थालेकोप्रति चिन्ता व्यक्त गरे । 

त्यस्तै, प्याब्सन सिरहाका वरिष्ठ उपाध्यक्ष उमेश यादवले अनुशासन विद्यार्थीको गहना भएको उल्लेख गर्दै विद्यालय, क्याम्पसमा अध्ययनरत विद्यार्थीले आफूलाई अनुशासित बनाए त्यसको सहारामा शिक्षासहित सबै क्षेत्रमा अब्बल बन्न सकिने बताए । 

कार्यक्रममा एसएस कलेजका संस्थापक भोलाजित नेपालले खुला सीमा नाकाको कारणले लहान क्षेत्रमा लागूऔषधको पहुँच सजिलै हुने र त्यसले शिक्षा क्षेत्रमै चुनौती थपिएको बताए । उनले आफ्नो कलेजले समयको आवश्यकता र मागअनुसार प्रविधिमैत्री शिक्षा प्रणालीलाई आत्मसात् गर्दै प्लस–टू तहमा प्रविधिमैत्री पठनपाठन थालिएको जानकारी दिए । 

सुझावित समाचार