उदयपुरमा दोस्रो दनुवारी खाना–परिकार सांस्कृतिक उत्सव मंसिर २५ देखि

मंगलबार, २३ मंसिर, २०८२
डिजिटल संस्करण

उदयपुरको त्रियुगा नगरपालिका–८ स्थित बैरेनीचौरमा यस वर्ष राष्ट्रिय न्वागी (नेमान) पर्व तथा दोस्रो दनुवारी खाना–परिकार तथा सांस्कृतिक उत्सव तीन दिनसम्म भव्य रूपमा मनाइने भएको छ । दनुवार जागरण समिति, त्रियुगा नगर समिति र उत्सव मूल आयोजक समितिको संयुक्त आयोजनामा मंसिर २५ देखि २७ गतेसम्म हुने यस उत्सवका तयारी तीव्र रूपमा अघि बढाइएका छन् । 

मूल आयोजक समितिका संयोजक गुरुदेव दनुवारका अनुसार पहिलो दिन अर्थात् मंसिर २५ गते दनुवार समुदायको प्रमुख पर्व न्वागीलाई राष्ट्रिय स्तरमा औपचारिक रूपमा सार्वजनिक गरिनेछ । सामूहिक न्वागी पूजा, नयाँ अन्न अर्पण तथा पूर्वजप्रति सम्मान व्यक्त गर्ने परम्परागत विधिबाट उत्सवको शुभारम्भ गरिनेछ । यस अवसरमा त्रियुगा नगरपालिकाले स्थानीय विदा दिने निर्णयसमेत गरिसकेको छ ।

उत्सवको दोस्रो र तेस्रो दिन महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरद्वारा नगरस्तरीय खुला सांस्कृतिक नृत्य प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति, बृहत् सांस्कृतिक मोटरसाइकल र्याली, ओपन–फेस्ट भिलेज वातावरण, जातीय झाँकी प्रदर्शन तथा दनुवारी परम्परागत खानेकुरा प्रदर्शनजस्ता आकर्षक कार्यक्रमहरू सञ्चालन हुँदैछन् ।

दनुवार समुदायको कला, संस्कृति, पहिरन, नृत्य र खानालाई राष्ट्रिय पहिचानमा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको यस उत्सवलाई नेपालकै सांस्कृतिक विविधता, सामुदायिक सहअस्तित्व र एकताको सुन्दर प्रतीकका रूपमा सफल बनाउन आयोजक समिति प्रतिबद्ध रहेको छ । न्वागी पर्वलाई दनुवार समुदायले धर्म, संस्कृति तथा कृषि परम्परासँग जोडिएको पवित्र पर्व मान्दै आएको छ । यो पर्वले समुदायका पुराना चलन–रितिथिति संरक्षण तथा नयाँ पुस्तालाई परम्परा हस्तान्तरण गर्ने महत्वपूर्ण माध्यमको भूमिका खेल्दै आएको छ ।

सुझावित समाचार