एनसेलसँग देखिएका समस्या समाधानका लागि पनि सरकार प्रयासरत रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए । नक्खुस्थित एनसेलको कार्यालय अवलोकनका क्रममा सोमबार मन्त्री खरेलले एनसेलको सेयरसम्बन्धी विवाद, भुक्तानी दायित्वलगायत सबै विवाद चाँडो समाधान गरिनुपर्नेमा जोड दिएका हुन् ।
उनले भने, ‘केही नीतिगत समस्या छन्, केही विवाद पनि देखिएका छन्, यद्यपि यी सबै कानुनसम्मत समाधान हुनुपर्छ भन्नेमा सरकार विश्वस्त छ ।’ राज्य र नागरिकको नजरमा एनसेलको बिजनेस सम्मानित बनाउन विवादको समाधान गरेर क्लिन बिजनेस र सर्भिस दिनेतर्फ केन्द्रित हुनुपर्ने उनले बताए । उनले भने, ‘क्लिन बिजनेसका लागि सरकारको साथ–सहयोग रहन्छ ।’
गत २४ भदौमा जेन–जी आन्दोलनका क्रममा एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालय क्षतिग्रस्त भएपछि एनसेलले नक्खुस्थित कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ । सञ्चारमन्त्री खरेलले सोमबार एनसेलको कार्यालय, डेटा सेन्टरको अवलोकन गरेका हुन् ।