- गत सोमबार पनि उत्तर प्रदेशको बलरामपुरमा बसमा आगलागी हुँदा दुई नेपालीको मृत्यु भएको थियो
एकैसातामा भारतमा भिन्दाभिन्दै दुई आगलागीका घटनामा ७ जना नेपालीको ज्यान गएको छ । तटवर्ती राज्य गोवाको एक नाइट क्लबमा शनिबार भएको आगलागीमा पाँच नेपालीले ज्यान गुमाएका छन् । त्यसअघि गत सोमबार उत्तरप्रदेशको बलरामपुरमा बसमा आगलागी हुँदा २ जना नेपालीको मृत्यु भएको थियो । गोवामा आगलागीमा मृत्यु हुने पाँचैजना नेपाली त्यहाँ मजदुरी गर्दै आएका थिए ।
‘पाँचजना नेपाली नागरिकको दु:खद निधन भएको औपचारिक जानकारी सम्बन्धित अधिकारीहरूबाट प्राप्त भएको छ,’ नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख डा. सुरेन्द्र थापाले टेलिफोनमा नयाँ पत्रिकासँग भने । उनका अनुसार घोराही–३, दाङका चूर्णबहादुर पुन, लदाभिर–२, सिन्धुलीका लीलबहादुर कटुवाल, भद्रपुर–३, झापाका सबिन बिके, झापाकै सुदीप गुरुङ र बागेश्वरी १, डडेल्धुराका मानबहादुर जोडाको मृत्यु पुष्टि भएको छ ।
पुनको शव दाङ पठाइएको तथा बाँकी चारजनाको शव मंगलबार आफन्तमार्फत पठाउन लागिएको नियोग उपप्रमुख थापाले बताए । चारजनाको शव गोवाको अस्पतालमा राखिएको छ । गोवा सरकारको तर्फबाट नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा सम्पर्क गरी चारजनाको शवलाई नेपाल पठाउन समन्वय भइरहेको छ । ‘मंगलबार आफन्त पुग्नु भएपछि चारजनाको शव पठाइने जानकारी आएको छ,’ गोवास्थित भारतीय अधिकारीहरूसँग समन्वयमा रहेका उपप्रमुख थापाले भने ।
उत्तरी गोवाको बर्च बाई रोमियो लेन नाइट क्लबमा आतिसबाजीका कारण आगलागी भएको सुरक्षा निकायले प्रारम्भिक अनुमान गरेको छ । त्यहाँ मारिएका २५ जनामध्ये २० जना काम गर्ने स्टाफ रहेको र ती स्टाफमध्ये पाँचजना नेपाली नागरिक रहेको गोवा प्रहरीले नेपाली दूतावासलाई जानकारी दिएको छ । भुइँतलाको भान्साघरमा काम गर्ने नेपालीहरू घटनामा परेका छन् ।
नेपाली समाज भारतले विज्ञप्ति जारी गरी घटनाप्रति दु:ख व्यक्त गरेको छ र घटना छानबिनको माग गरेको छ । ‘नाइट क्लबमा शनिबार राति भएको भीषण आगलागी दुर्घटनामा ५ जना नेपालीको मृत्यु भएको पुष्टि भएपछि सम्पूर्ण नेपाली समुदाय गहिरो शोकमा डुबेको छ,’ समाजका महासचिव आरबी खड्काले भनेका छन्, ‘यस दु:खद घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न नेपाल सरकार, भारत सरकार, गोवा राज्य सरकारसमक्ष हामी गम्भीर रूपमा आग्रह गर्दछौँ । साथै मृतक परिवारलाई उचित आर्थिक राहत उपलब्ध गराउन र घाइतेहरूको नि:शुल्क उपचार सुनिश्चित गर्न पनि अनुरोध गर्दछौँ ।’ यस्ता घटना भविष्यमा दोहोरिन नदिन नाइट क्लब तथा मनोरञ्जन स्थलहरूमा सुरक्षासम्बन्धी मापदण्डहरूको कडाइका साथ अनुपालन गराउन पनि समाजले ध्यानाकर्षण गराएको छ ।
यसअघि उत्तरप्रदेशको सुनौलीबाट दिल्ली जाने क्रममा बलरामपुरमा यात्रुवाहक बसमा आगो लागेर दुईजना नेपालीको ज्यान गएको थियो । ट्रकमा ठोक्किएपछि आगो लाग्दा बुटवल ठेगाना लेखिएका पार्वती श्रेष्ठ र रामकुमारी बुचाले ज्यान गुमाएको नेपाली समाज भारतले जनाएको छ ।