मेडिकल व्यवसायी तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन्। छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, मुख्य सचिव सुमनराज अर्याल पनि सहभागी थिए।
सो क्रममा प्रसाईँले प्रधानमन्त्री कार्कीलाई उपहारस्वरूप दुर्गाको मूर्ति प्रदान गरे। प्रसाईँले आफूले प्रधानमन्त्रीको विषयमा बाहिर बोलेका कुराहरूप्रति माफी माग्दै सरकारको पक्षमा रहेको बताएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
‘मैले बाहिर भनेका कुरामा सरी भन्छु। माफी माग्छु। तपाईँ माता हो, दुर्गा हो। दुर्गाको रूप धारण गरेर काम गर्नुहोस्। तपाईंको साथमा हामी छौँ। यो सरकारको पक्षमा हामी हुन्छौँ। सगरमाथाजस्तै अटल भएर यो सरकारको पक्षमा उभिन्छौँ,’ प्रसाईंलाई उदृत गर्दै प्रधानमन्त्रीको सचिवालयले भनेको छ।
प्रसाईँले आफ्ना मागबारे प्रस्ट्याउँदै आफ्ना कुरा सुन्न तयार भएकामा सरकारलाई धन्यवादसमेत दिएका थिए। शान्तिपूर्ण वार्ताका माध्यमबाट सडकको आवाज सुन्ने वातावरण बनाइदिएको भन्दै उनले गृहमन्त्री ओमप्रकाश अर्यालको पनि प्रशंसा गरेका सचिवालयले जनाएको छ।
‘यसअघिका सरकारहरू हाम्रा माग सुन्नै चाहेनन्। यही कारण दुर्घटना भयो। कमसेकम यो सरकार सुन्न तयार भयो। प्रधानमन्त्रीको टेबुलमै आएर हाम्रा माग राख्न पायौँ। यसका लागि माननीय गृहमन्त्रीज्यू र सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ प्रसाईंले भने।