धनगढीमा सुदूरपश्चिम महोत्सव सुरु

सोमबार, २२ मंसिर, २०८२
डिजिटल संस्करण

कैलालीको धनगढीमा सुदूरपश्चिम महोत्सव सुरु भएको छ। अर्थमन्त्री रामेश्वर खनालले सोमबार महोत्सवको उद्घाटन गरेका हुन्। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव १० दिनसम्म सञ्चालन हुनेछ।

व्यापार व्यवसाय अभिवृद्धि, सम्भावनाको उजागर, प्रचार र विकासका लागि राज्यलाई दबाब दिन संघले हरेक वर्ष गर्दै आएको महोत्सवको यो १९औँ संस्करण हो। महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट, इलेक्टोनिकल, होटेल, सूचना प्रविधि, स्थानीय उत्पादन, लुगाकपडाका गरी पाँच सय स्टल राखिएका छन्। 

महोत्सवलाई करिब सात लाख दर्शकले अवलोकन गर्ने र करिब १५ करोड रुपैयाँको आर्थिक कारोबार हुने अनुमान संघले गरेको छ। संघका अनुसार महोत्सव सञ्चालन गर्न करिब तीन करोड रुपैयाँ लगानी हुँदै छ। संघले विगतमा पनि महोत्सवको उद्घाटनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुलाई आमन्त्रण गरेर सुदूरपश्चिमको विकासका मुद्दाहरूमा राज्यको ध्यानाकर्षण गराउँदै आएको थियो।

सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग र व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवद्र्धनमा महोत्सवले टेवा पुर्याउँदै आएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्करराज ओझाले बताए। यो क्षेत्रका विकासका सम्भावनालाई उजागर गर्दै आर्थिक, सामाजिक प्रतिकुलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई पुनर्स्थापित गर्न महोत्सवले योगदान पुग्ने अपेक्षा गरिएको उनले बताए।

२०६३ सालमा सुदूरपश्चिमको विकास र समृद्धिसँग सम्बन्धित २१बुँदे मागपत्र बुझाएर महोत्सव सुरुवात गरेको स्मरण गराउँदै अध्यक्ष ओझाले १९ वर्षसम्म पनि केही माग पूरा हुन नसकेको बताए। संघले उठाउँदै आएका सुदूरपश्चिमको विकास र समृद्धिका मुद्दाहरूलाई सम्बोधन गर्न उनले सरकारलाई आग्रह गरे।

कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा महोत्सवको सुरुवात गरेका धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले सुदूरपश्चिमको विकासका लागि सालिन आन्दोलनका रुपमा महोत्सव सुरु गरिएको बताए। ‘सुदूरपश्चिमको समृद्धिका लागि आवश्यक मागहरु सरकार समक्ष पेश गर्ने एउटा सालिन आन्दोलनका रुपमा हामीले महोत्सव सुरु गरेका थियौं,’ उनले भने, ‘सरकारले ध्यान नदिँदा यहाँका ‘गेम चेञ्जर’ आयोजना अहिले पनि जहाँको त्यहीँ छन्।’

विकासका लागि उत्तर–दक्षिण कनेक्टीभिटी महत्वपूर्ण : मन्त्री खनाल
महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री खनालले देशको विकासका लागि उत्तर–दक्षिण ‘कनेक्टीभिटी’ महत्वपूर्ण रहेको बताए। उत्तरदक्षिण सम्पर्क राम्रो नभएसम्म विकास हुन सक्दैन भन्ने कुरा सुदूरपश्चिमको विकासको गतिले पनि देखाएको उनको भनाइ थियो।

‘नेपालको विकासका लागि उत्तर–दक्षिण केनेक्टीभिटी अत्यन्त महत्वपूर्ण छ। किनभने यसले विविध संस्कृति भएका मानिसलाई आर्थिक क्रियाकलापमा जोड्छ र यसले प्रदेशको अर्थतन्त्र बलियो बन्छ,’ मन्त्री खनालले भने, ‘उत्तर-दक्षिण सम्पर्क राम्रो नभएसम्म विकास हुन सक्दैन भन्ने कुरा यही प्रदेशको विकासको गति र उत्तरदक्षिण सम्पर्क भएका अरु प्रदेशको विकासको गति हेर्दा प्रस्ट हुन्छ।’

विकासका आयोजनाहरु चाँडो अगाडि बढाउनुपर्छ भन्ने पक्षमा आफू रहे पनि अहिलेको सरकारलाई नयाँ बजेट ल्याउने, नयाँ कानुन बनाउने, भइरहेको बजेट तलमाथि गर्ने अधिकार नभएको उनले प्रस्ट्याए। यी सीमाका कारण जनताको विकासको चाहनालाई सम्बोधन गर्न चुनौति रहेको धारणा उनले राखे।

महोत्सवले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्छ : ढकाल
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले महोत्सवले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने बताए। ‘केही संभावना छैन, यहाँको पुँजी परिचालन गरेर केही आयोजना हुन सक्दैन’ भन्ने नकारात्मक भाष्य भइरहेका सन्दर्भमा नेपालमा संभावना छ भन्ने सन्देश दिनका लागि महासंघले १० अर्ब फन्डको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको काम अगाडि बढाइरहेको उनले बताए। 

यहाँ लगानी अभाव भएर कुनै परियोजना अगाडि बढाउन समस्या भए नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनीमार्फत लगानी गर्न सकिने उनको भनाइ थियो। उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्नुपर्छ भन्ने महासंघको सुझावका आधारमा सरकारले आयोग गठन गरेर केही कानुनमा सुधार पनि भएको उनले बताए।

सुझावित समाचार