बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले आधारभूत पूर्वाधारको विकास नगरी नागरिकको आर्थिक जीवनस्तर उकास्न नसकिने बताएका छन्। काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सडक, पुल र बिजुलीजस्ता संरचनाले मात्र जनजीवन सहज र सशक्त बन्ने भएकाले सरकार पूर्वाधार विकासमा केन्द्रित भएको बताए ।
'सडक, पुल, बिजुलीजस्ता पूर्वाधारको विकास नगर्दासम्म नागरिकले वास्तविक परिवर्तनको अनुभूति गर्न सक्दैनन्,' मुख्यमन्त्री बानियाँले भने, 'त्यसैले मेरो नेतृत्वको सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।
मुख्यमन्त्री बानियाँले खानीखोला क्षेत्रका बासिन्दाको पहुँच र आवतजावत सहज बनाउन सिक्रेदोभानको पुल आगामी वैशाखभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए । उनले सोमबार बिहान पुल निर्माण स्थलको अनुगमन गर्दै ठेकेदार कम्पनीलाई कामलाई तीव्र गति दिन निर्देशनसमेत दिए ।
गत असोजमा बागमती नदीले कटान गरेको करिब ७ सय मिटर सडक पुनर्निर्माणका लागि प्रदेश सरकारले तत्कालै बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि मुख्यमन्त्रीले जनाए । उनका अनुसार सडक र पुल बनेपछि स्थानीयको दैनिकी सहज हुने मात्र होइन, व्यापार, शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच थप सुदृढ हुनेछ ।
'प्रदेशलाई विकासको पर्याय बनाउन सरकारले संरचनागत विकासलाई पहिलो आधार बनाएको छ,' उनले भने । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङसहित स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति थियो।