‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक

सोमबार, २२ मंसिर, २०८२
डिजिटल संस्करण

हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेब्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार राजधानीमा आयोजित एक कार्यक्रमबिच चलचित्रको दुई मिनेट ५५ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो।

चलचित्रको सार्वजनिक ट्रेलरले कथावस्तुबारे प्रकाश पारेको छ। भ्रष्टाचार र बेथितिविरुद्ध एक युवकले काठमाडौंको माइतीघर मण्डलाबाट थालेको आन्दोलनको कथावस्तुमा चलचित्र आधारित रहेको ट्रेलरबाट बुझ्न सकिन्छ। यो ट्रेलरले केही समयअघि नेपालमा भएको जेन–जी आन्दोलनको झल्को दिन्छ।

विदेश गएर उच्च शिक्षा अध्ययन गर्ने युवाको सपना पूरा नहुँदा उसले कसरी भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन गर्छ भन्ने कथा देखाइएको छ। ट्रेलरमा उठाइएको कथावस्तुका विषयमा निर्देशक पाँडेलाई प्रश्न गर्दा जेन–जी आन्दोलन अगावै आफ्नो चलचित्रको छायांकन सकिएकाले कहीँ कतै मिल्न गए संयोग मात्रै हुने बताए।

नागराज इन्टरटेनमेन्ट प्रालिले निर्माण गरेको चलचित्रबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमब्याक गर्दै छन्। चलचित्रमा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण सिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे पाँडे, प्रियना आचार्य मुन्नी, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईलगायतको अभिनय छ।

आगामी पुस ४ गते देशव्यापी रिलिज हुने यो चलचित्रबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गर्दै छन्। बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ। 

निर्देशक घिमिरे स्वयंको कथा रहेको चलचित्रको पटकथा र संवाद गणेश कार्की र विशाल घिमिरेले मिलेर लेखेका हुन्। चलचित्रका छायांकार बुद्ध थापा हुन्। अनिशा सेन्दाङ लिम्बू निर्माता, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सहनिर्माता रहेको चलचित्रमा लाइन प्रोड्युसर योगेश खतिवडा र विनोद कँडेल छन्।

सुझावित समाचार