पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा त्रिभुवन विमानस्थल र गौतमबुद्ध विमानस्थलका प्रमुख पनि प्रतिवादी

६ जना बहालवाला कर्मचारी

सोमबार, २३ मंसिर, २०८२
डिजिटल संस्करण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियामा अनियमितता गरेको गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार दायर गरेको भ्रष्टाचार मुद्दामा ५५ जना व्यक्तिलाई प्रतिवादी कायम गरेको छ । तिनमा ६ जना बहालवाला कर्मचारी छन् । 

अख्तियारले मुद्दा दायर गर्दा बनाएका प्रतिवादीमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखसमेत छन् ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी उपप्रबन्धक हुँदाको समयमा खरिद प्रक्रियामा जोडिएकाले मुद्दामा आरोपित छन् । गत साता अख्तियारले दायर गरेको हेलिपोर्टको मुद्दामा पनि उनी प्रमुख प्रतिवादी छन् । 

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेयलाई पनि अख्तियारले पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाएको छ । उनी प्राधिकरणमा उपनिर्देशक हुँदा खरिद प्रक्रियामा जोडिएका थिए । यसैगरी हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धकको पदमा कार्यरत बाबुराम पौडेलविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । उनी प्राधिकरणमा निर्देशक हुँदा विमानस्थल निर्माणको खरिद प्रक्रियामा जोडिएका थिए । 

यसैगरी, हाल प्राधिकरणमा उपमहानिर्देशक रहेका प्रतापबाबु तिवारीविरुद्ध पनि मुद्दा छ । उनी निर्देशक हुँदा खरिद प्रक्रियामा संलग्न थिए । प्राधिकरणमा तत्कालीन अवस्थामा वरिष्ठ कानुन अधिकृत रहेर खरिदमा जोडिएका द्वारिकाप्रसाद भट्टराई पनि मुद्दाका प्रतिवादी छन् । उनी हाल प्राधिकरणमै प्रबन्धक पदमा कार्यरत छन् । 

यसैगरी, तत्कालीन अवस्थामा अर्थ मन्त्रालयमा शाखा अधिकृत रहेका कमलकुमार भट्टराईलाई पनि अख्तियारले मुद्दा दायर गरेको छ । उनी हाल अर्थ मन्त्रालयमै उपसचिव छन् । सबै प्रतिवादीविरुद्ध जनही आठ अर्ब ३७ करोड बिगो दाबी गरिएको छ ।

सुझावित समाचार