नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा प्रगतिशील इन्जिनियर एसोसिएसन नेपाल (पिन) का अध्यक्ष इन्जिनियर डा. भेषराज थापाले केन्द्रीय नेतृत्वका लागि औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
स्वच्छ, पेसागत र विकासमुखी राजनीतिलाई संस्थागत गर्न युवा पुस्ताको निर्णायक भूमिका अपरिहार्य रहेको उनको भनाइ छ ।
जलस्रोत तथा पूर्वाधार इन्जिनियरिङ क्षेत्रका ख्यातिप्राप्त विज्ञ डा. थापाले दुई दशकभन्दा बढी समय नेपालको विकास, पूर्वाधार निर्माण र नीति निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका छन् । सिँचाइ, जलस्रोत, जलविद्युत्, विपद् जोखिम व्यवस्थापनलगायत क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका उनी २०५० सालदेखि नै वाम राजनीतिमा सक्रिय छन् ।
यसअघि उनले टेक्निकल स्टुडेन्ट्स एसोसिएसन नेपाल (सान) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा पनि नेतृत्व गरिसकेका छन् ।
आफ्नो उम्मेदवारी घोषणा गर्दै डा. थापाले देशलाई इमानदार, दूरदर्शी र उत्तरदायी नेतृत्वको खाँचो रहेको बताएका छन् । उनले राजनीतिमा इमानदारी, पारदर्शिता र विकास–प्रेरित सोच आवश्यक रहेको बताउँदै इन्जिनियर, चिकित्सक, अर्थशास्त्रीलगायत प्राविधिक क्षेत्रका युवाहरूले सुशासन, दिगो विकास र समृद्ध राष्ट्र निर्माणमा नेतृत्व लिनुपर्नेमा जोड दिए ।
पूर्वाधार अर्थशास्त्रीका रूपमा समेत परिचित डा. थापाले प्रमाणमा आधारित नीति निर्माण, संविधानले उल्लेख गरेको समतामूलक सामाजिक–आर्थिक विकास, मुलुकभित्रै रोजगारी सिर्जना तथा कुल गार्हस्थ्य उत्पादनमा वृद्धि गर्दै 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय लक्ष्यलाई साकार पर्ने आफ्नो प्राथमिकता रहेको बताए । उनले यस मार्गचित्रबाट देशको दीर्घकालीन विकासमा योगदान दिने समेत प्रतिबद्धता जनाएका छन् ।