नेपालगन्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण भएको छ । तोकिएको मितिभन्दा दुई महिनाअघि नै सम्पन्न भएको उक्त भवन निर्माणका लागि १६ डिसेम्बर २०२२ मा सम्झौता भएको थियो । अन्तर्राष्ट्रिय मापदण्डमा निर्माण पूरा भएसँगै नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरिएको निर्माण कम्पनी शर्मा एन्ड कम्पनीका असिस्टेन्ट प्रोजेक्ट म्यानेजर स्मिता पुञ्जालीले बताइन् ।
नयाँ तीनवटा ब्लक बनाएर निर्मित टर्मिनल भवन, विमान पार्किङ क्षेत्र, सवारीसाधन पार्किङ, गेस्टहाउस, ढल व्यवस्थापन, बगैँचा, फुटपाथ, शौचालयलगायतका संरचना निर्माण भएको उनले जानकारी दिइन् । ‘सम्झौताभन्दा दुई महिनाअघि निर्माण पूरा भई नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरणसमेत भइसकेको छ,’ उनले भनिन् ।
नवनिर्मित भवनमा अन्डरग्राउन्डसहित यात्रु कक्ष, प्रशासनिक कक्ष, विमान कम्पनीका कक्ष, व्यापारिक सटर, शौचालय, भन्सार, अध्यागमन, क्वारिन्टाइनलगायत विभिन्न कक्ष निर्माण भएको छ । भ्याटबाहेक करिब तीन अर्ब रुपैयाँमा निर्माण भएको उक्त टर्मिनल भवन ५५ हजार स्क्वायर फिटमा फैलिएको छ । उक्त भवनमा प्रतिघण्टा ६ सय ९८ जना यात्रलाई सेवा दिन सकिन्छ । ‘भवनमा अन्तर्राष्ट्रिय उडान हुने सम्भावनालाई दृष्टिगत गरी घरेलु तथा अन्तर्राष्ट्रिय उडानका लागि अलग–अलग यात्रु प्रस्थान र आवागमन ढोका तयार गरिएको छ,’ पुञ्जालीले भनिन् ।
टर्मिनल भवनको बाहिर बगैँचाका साथै पाँचदेखि १४ मिटर फराकिलो बाटो निर्माण गरिएको छ । टर्मिनल भवनको पेरिफेरीमा ढल निकास तथा बढी भएको पानी निकासका लागि नालाको उचित व्यवस्था गरिएको छ । ‘टर्मिनल भवनबाहिर एटिआर–७२ जहाज तीनवटा र ट्विनअटर जहाज पाँचवटा एकैपटकमा पार्किङ गर्न मिल्ने संरचना तयार भएको छ,’ उनले भनिन् ।