मोरङको लेटाङकी १३ वर्षीया बालिका अंशु गौतमको हत्या आरोपमा प्रहरीले ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरेको छ । कुनै सुरागविनै शून्यबाट अपराध अनुसन्धान सुरु गरेर प्रहरीले दुई महिनापछि आइतबार हत्या आरोपीलाई सार्वजनिक गरेको हो । मोरङका एसपी कवित कटुवालका अनुसार अधिकारीले अंशुको बलात्कारपछि घाँस काट्ने हँसियाले हत्या गरेको स्वीकार गरिसकेका छन् । मोरङ प्रहरीले अधिकारीलाई जबर्जस्ती करणी र कर्तव्य ज्यान कसुरमा अदालतबाट म्याद थप गराएर अनुसन्धान थालेको छ ।
गत २१ असोजमा साथीसँग खेल्न जान्छु भनेर घरबाट निस्किएकी मोरङको लेटाङ नगरपालिका– २, बुधबारेकी गौतमको शव १८ दिनपछि ७ कात्तिकमा घरबाट साढे चार किलोमिटर टाढा जंगलमा फेला परेको थियो । अंशु हराएपछि उनका अभिभावकले २२ असोजमा हुलियासहित इलाका प्रहरी लेटाङमा जानकारी गराएका थिए । त्यसपछि प्रहरीले बलात्कार वा हत्या भएको आशंकामा नेपाली सेना र स्थानीयको सहयोगमा जंगलमा अंशुको खोजी गरे पनि फेला पार्न सकेको थिएन ।
७ कात्तिकमा टाउको अलग भएको सडिसकेको शव घाँस–दाउरा गर्न गएका स्थानीयले फेला पारेका थिए । आफन्तले दिएको हुलियाअनुसार फेला परेको शव अंशुकै भएको यकिन भएको थियो । प्रहरीले घटनालाई संवेदनशील मानेर अंशुको शवको डिएनए परीक्षण गराउन धरानस्थित बिपी स्वास्थ्य प्रतिष्ठान पठाएको थियो । डिएनए परीक्षणले पनि शव अंशुकै भएको र उनको हत्या भएको पक्का भएको थियो ।
तर, हत्या किन भयो र हत्या गर्ने को हो भन्ने पत्ता लगाउन अपराधको कुनै सुराग नहुँदा प्रहरीलाई अंशुको हत्या रहस्य पत्ता लगाउन सकस भएको थियो । अंशुको हत्यालाई ‘ब्लाइन्ड क्राइम इन्भेस्टिगेसन’ मानेर प्रहरीले ‘जस्टिस फर अंशु गौतम (जग)’ अपरेसन सञ्चालन गरेको थियो । अपरेसनमा प्रहरीको अनुसन्धान समिति, कोशी प्रदेश प्रहरीको विशेष अनुसन्धान ब्युरो र सिआइबीसहित १६ जनाको अनुसन्धान टोली निरन्तर अनुसन्धानमा खटिएको थियो ।
मोरङका एसपी कवित कटुवालका अनुसार अपरेसनका क्रममा प्रहरीले तीन सयजनासँग सोधपुछ गरेको थियो । ५४ जनाको लिखित कागज गराएको थियो । जसमा घाँस–दाउरा जाने, गाउँ–समाजमा बस्ने र पहिले अपराधमा संलग्न रहेका व्यक्तिदेखि विद्यालयका शिक्षक, साथीभाइ र आफन्तहरू सामेल थिए । प्रहरीले हत्या रहस्य पत्ता लगाउन एक दर्जनको पोलिग्राफसमेत गराएको थियो ।
तास खेल्नेहरूसँगको सोधपुछबाट खुल्यो रहस्य
अंशुको हत्याको अनुसन्धान गर्न मोरङका एसपी कवित कटुवालको नेतृत्वमा डिएसपी कोपिला चुँडालसहितको १६ जना टोली लेटाङमा खटिएको थियो । तर, सुराग पाउन नसक्दा प्रहरीमाथि दबाब परेको थियो । अंशुका आफन्तले दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएका थिए । जघन्य अपराधबाट स्तब्ध बनेका लेटाङवासीले पनि कसैले अपहरण गरेर बलात्कार गरेर कञ्चनपुरकी बालिका निर्मला पन्तको जस्तै बीभत्स हत्या गरेको दाबी गर्दै चाँडो अनुसन्धान सक्न भनेपछि प्रहरी चर्को दबाबमा थियो ।
अंशु हराएपछि शव भेटिएको नौ दिनसम्म छिमेकी पदमबहादुर अधिकारी घरमै थिए । उनले प्रहरी र स्थानीयसँगै अंशुको खोजी गर्न सहयोग गरेका थिए । छिमेकी भएको नाताले अंशुका आफन्तलाई सान्त्वना दिन पनि पुगिरहन्थे । यसैले प्रहरीको अनुसन्धान टोलीले उनीमाथि शंका गरेको थिएन । तर, अंशुको शव जंगलमा भेटिएपछि पदमबहादुर भारतको आसाम गएका थिए । प्रहरीले सोधपुछ गर्ने क्रममा अंशु हराएपछि पदमबहादुर साथीभाइसँग साँझ तास खेल्न आउन छाडेको पत्ता लाग्यो । त्यसपछि प्रहरीले उनको हिस्ट्री खोजी गर्दा उनीमाथि पहिले पनि पटक–पटक यौन दुव्र्यवहार आरोप लागेको र छोराले समेत जेल सजाय भोगेको रहस्य खुल्यो ।
केही स्थानीयले अंशुको हत्या पदमबहादुरले गरेको हुनुपर्छ भन्ने किटानी शंका गर्दै फोन नम्बरसमेत उपलब्ध गराएका थिए । त्यसपछि प्रहरीले उनको घरपरिवार र स्थानीय जनप्रतिनिधिमार्फत उनलाई आसामको मेघालयमा फोन गरेर १८ मंसिरमा घर फर्काएको थियो । त्यसपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा उनले अंशुको हत्या आफैँले बाबुआमासँगको पुरानो रिसइबीको बदला लिन गरेको स्वीकार गरे ।
यौन प्यास मेटाउन फकाएर जंगलमा लगेर बलात्कार गरी घाँस काट्ने हँसियाले टाउको रेटेर हत्या गरेको बयान प्रहरीलाई दिए । प्रहरीलाई पदमबहादुरले दिएको बयानअनुसार २१ असोजमा ५ बजेतिर उनले साथीलाई पाँच रुपैयाँ दिएर खेल्दै गरेकी अंशुलाई बोलाउन लगाएका थिए । अंशु आएपछि घाँस काट्न सहयोग गर्छु हिँड भनेर साइकलमा राखेर एकान्तमा लगी बलात्कार गरेर हत्या गरेका थिए । आफन्त र प्रहरीले खोजतलास गर्न थालेपछि फेरि उनले अंशुको शव बोरामा हालेर घरदेखि दक्षिण लेटाङ र बेलबारी नगरपालिकाको सिमाना पर्ने घना चारकोसे साझेदारी वनमा लगेर फ्याँकिदिएका थिए । ‘मैले छिमकी नातिनीको हत्या गरेर ठुलो पाप गरेको छु, मलाई कानुनले कडा सजाय देओस्,’ प्रहरीसँगको बयानमा उनले भनेका छन् ।
आफन्तले मंगलबार अंशुको शव बुझ्ने
अंशुको बलात्कार गरेर हत्या गर्ने पदमबहादुर नै भएको खुलेपछि उनका आफन्तले शव बुझेर दाहसंस्कार गर्ने भएका छन् । अंशुका ठुलोबुवा दामोदर गौतमले प्रहरीले कठिन अनुसन्धान गरेर दोषी पत्ता लगाइसकेकाले मंगलबार बिपी अस्पतालमा रहेको अंशुको शव बुझेर दाहसंस्कार गर्ने बताए । ‘नहुनु घटना भइसक्यो, दोषी पनि पक्राउ परिसक्यो । अब अदालतले जन्मकैद गरोस् । हामी छोरीको शव बुझेर दाहसंस्कार गर्छौँ,’ उनले भने । हजुरबुवा समानको भएर पनि छिमेकी नातिनीको हत्या गरेको खुलेपछि गाउँ–समाजले पदमबहादुरको परिवारलाई गाउँ छाड्न दबाब दिएको छ ।