महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन

आइतबार, २२ मंसिर, २०८२
डिजिटल संस्करण

जिल्लाको निसीखोला गाउँपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन वितरण गरिएको छ । निसीखोला गाउँपालिका– २ को कार्यालयले २३औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसकाे अवसरमा सम्मानसहित मोबाइल फोन वितरण गरेको हो ।

समुदायमा नागरिकको स्वास्थ्य सेवामा सहजता होस् भन्ने उद्देश्यका साथ वडाभित्र रहेका १० जना स्वयंसेविकालाई मोबाइल फोन वितरण गरिएको वडाध्यक्ष कुबिर विश्वकर्माले जानकारी दिए । 

‘महिला स्वास्थ्य स्वयंसेविका हाम्रो समाजको धरोहर हुन् । स्वस्थ समाज निर्माणमा यिनीहरुको भूमिका महत्त्वपूर्ण हुन्छ । उनीहरूलाई उत्प्रेरणा जगाउन मोबाइल फोन वितरण गरिएको हो,’ अध्यक्ष विश्वकर्माले भने, ‘हातहातमा मोबाइल फोन भएपश्चात् गर्भवती महिला र बालबालिकाको खोप लगाउनका निम्ति फलोअपकाे काम पनि हुन्छ । यसले आमनागरिकलाई नै सहज बनाउनेछ ।’ उनले महिला स्वास्थ्य स्वयंसेविकालाई राज्यबाट प्रदान हुने सेवा न्यूनतम मात्र रहेको हुँदा वडा तहबाट थप प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएको बताए । 

स्वयंसेविकाको हात–हातमा मोबाइल फोन भएपश्चात् गण्डकी प्रदेशमा सञ्चालन भएको गर्भवती दर्ता तथा अनुगमन कार्यक्रममा गर्भवती दर्ता गर्न र नियमित फलोअपका साथै बालबालिकाको खोपमा पनि थप सहयोग पुग्ने टारीफाँट आधारभूत स्वास्थ्य सेवा केन्द्र प्रमुख विमला परियार बताउँछिन् ।

वितरण गरिएको मोबाइलमा नेपाली भाषा टाइप गर्न सकिने छ । ‘पहिले गाउँमा कुनै महिला गर्भवती भएमा उहाँकै घरमा पुग्नुपर्ने बाध्यता थियो केही वर्ष पहिले मेडिक मोबाइलमार्फत स्वयंसेविकालाई मोबाइल फोन दिएको थियो,’ स्वास्थ्य संस्था प्रमुख परियारले भनिन्, ‘त्यसैबाट उहाँहरूले गर्भवतीलाई दर्ता गर्ने बच्चाको खोपका लागि फोन गर्ने गर्नुहुन्थ्यो त्यो वेलाको मोबाइल फोन पुरानो पनि भइगयो, त्यही कामलाई सहज होस् भनेर नयाँ मोबाइल फोन वितरण गरेका हौँ । यो स्वयंसेविकाका लागि प्रोत्साहन पनि हो  ।’  मोबाइल फोनकै माध्यमबाट स्वास्थ्य संस्थामा सेवा प्रवाहका लागि सहज हुने बताइन् । 

शैक्षिक रूपमा कमजोर र ग्रामीण तथा दुर्गम स्थानमा बस्नेहरूले नियमित तालिकाअनुसार गर्भ परीक्षणलगायतका लागि स्वास्थ्य संस्थामा आइरहन नपाउने, कतिपय त घरमै सुत्केरी हुने खतरासमेत छ । तसर्थ मोबाइलमार्फत नियमित सम्पर्कमा रहेर स्वास्थ्य संस्थामा ल्याउने पहलका लागि मोबाइल फोन प्रदान गरेको अध्यक्ष वि.क.ले जानकारी दिए ।उनले पछिल्लो समय वडामा आमनागरिकको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन अन्य घरदैलो भेट, आमा समूहको बैठकमा स्वास्थ्य सेवाबारे जानकारी दिने काम पनि गराइएको बताए ।  

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले स्थानीयस्तरमा स्वस्थ समाज निर्माणको राम्रो भूमिका खेलेका हुन्छन् । उनीहरूले सुरक्षित मातृ, शिशु तथा परिवार योजना कार्यक्रम, नवजात शिशुस्याहार, बालरोग, पोषण, यौन तथा यौनजन्य रोग, नसर्ने रोगहरू व्यक्तिगत सरसफाइ तथा जनस्वास्थ्य अभियानमा पनि समाजमा सघाउँदै आएका छन् । उनीहरूले प्राथमिक उपचारमा सहयोगका साथै स्वास्थ्यसम्बन्धी जनचेतना समुदायसम्म पुर्याउँदै आएका छन् । 

विशेषगरी आमा र बालबालिकाको स्वास्थ्य सुरक्षा अभियानमा मेडिक मोबाइलको सहयोगमा गण्डकी प्रदेशमा सञ्चालन भएको गर्भवती दर्ता तथा अनुगमन कार्यक्रम थप प्रभावकारी बनाएसँगै नियमित गर्भजाँच गर्ने गर्भवती महिलाको संख्या पनि बढ्दै गएको छ । यसका साथै फेयरमेड फाउन्डेसन, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको सम्बोधन कार्यक्रमले पनि विभिन्न सहयोग गरेको छ ।

पछिल्लो समय स्वास्थ्य आमा समूहको बैठकमा नियमित स्वास्थ्य शिक्षाको जानकारी गराउने, स्वास्थ्य संस्थाको भौतिक उन्नति र अत्यावश्यक उपकरण खरिदका लागि परियोजनाले सहयोग गरेको छ । परियोजनाले जिल्लाका स्वास्थ्य संस्थामा ल्याब स्थापनाका  साथै गर्भवती महिलाको लागि प्रसूति प्रतीक्षाकक्षको निर्माणसमेत गर्दे आएको छ । 
 

सुझावित समाचार