पछिल्ला दिनमा बाढीपहिरोका कारण इन्डोनेसिया, श्रीलंका, थाइल्यान्ड र मलेसियामा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । बाढीपहिरोले सयौँ हराइरहेका छन् । आँधीबेहरीपछिको बाढीपहिरोमा इन्डोनेसियामा ६०४ जनाको मृत्यु भएको छ भने एक सयजना हराइरहेका छन् । मौसमबाट प्रभावितलाई सहयोग गर्ने प्रयास जारी रहेको राष्ट्रपति प्रबोबो सुबियान्तोले बताएका छन् । सरकारले राहत कार्यमा सहयोग गर्न हेलिकोप्टर र विमान तैनाथ गरिरहेको छ । बाढी र पहिरोको प्रतिक्रियामा राष्ट्रिय आपत्काल घोषणा गर्न सरकारमाथि दबाब परेको छ ।
श्रीलंकामा आएको बाढीमा कम्तीमा ३३५ जनाको मृत्यु भएको छ भने धेरैजना अझै बेपत्ता छन् । चक्रवात् दिट्वाबाट आएको बाढी र पहिरोमा फसेका मानिससम्म पुग्न सैन्य हेलिकोप्टर प्रयोग गरिएको छ । सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेको छ । विपत्सँग जुध्न आपत्कालीन अवस्था घोषणा गरिएको छ । राष्ट्रपति अनुरा कुमारा दिसानायकेले बाढीबाट प्रभावित संरचनाको पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाए । ‘हामी हाम्रो इतिहासको सबैभन्दा ठुलो र चुनौतीपूर्ण प्राकृतिक प्रकोपको सामना गरिरहेका छौँ,’ दिसानायकेले राष्ट्रका नाममा सम्बोधन गर्दै भने ।
त्यस्तै, दक्षिणी थाइल्यान्डमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १७६ पुगेको छ । सरकारले राहतका कार्यक्रम ल्याएको छ । तर, बाढीपहिरोले निम्त्याएको क्षतिलाई लिएर सरकारको आलोचना बढ्दै गएको छ । दुई स्थानीय अधिकारीलाई उनीहरूको कथित असफलताका लागि निलम्बन गरिएको छ । सीमापारि मलेसियामा भारी वर्षाले पेर्लिस राज्यको ठुलो भूभाग डुबानमा परेको छ । बाढीमा कम्तीमा तीनजनाको मृत्यु भएको छ ।