क्यारेबियन क्षेत्रमा संयुक्त राज्य अमेरिकाको नौसेना तैनाथी तीव्र हुँदै जाँदा र भेनेजुयलालाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्पको तर्क सुन्दा भेनेजुयलामा जुनसुकै वेला अमेरिकी आक्रमण होला जस्तो लाग्छ । सेप्टेम्बर महिनाको सुरुदेखि नै अमेरिकाले क्यारेबियन र पूर्वी प्रशान्त महासागरीय क्षेत्र लागुपदार्थको तस्करीमा संलग्न भएको आरोपमा २१ भेनेजुएली डुंगामा सैन्य हमला गरिसकेको छ । आक्रमणमा कम्तीमा ८७ जना मारिइसके ।
लागुपदार्थ प्रभावले अमेरिकाको राष्ट्रिय सुरक्षालाई खतरामा पारेको तर्क दिएर ट्रम्प प्रशासनले आक्रमणको औचित्य साबित गर्ने प्रयास गरिरहेको छ । तर, अहिलेसम्म आक्रमणमा परेका जहाजले लागुपदार्थको तस्करी नै गरेको थियो भन्ने कुनै प्रमाण प्रदान गरेको छैन । हुन त अमेरिकामा दक्षिण अमेरिकी देशबाट ठुलो परिणाममा लागुपदार्थ तस्करी हुने गर्छ । तर, तथ्यांकले भेनेजुयलाबाट अमेरिकामा खासै लागुऔषध तस्करी नहुने देखाउँछ । विज्ञहरू ट्रम्प प्रशासनको मुख्य निसाना भेनेजुयलाको मदुरो सरकार भएको मान्छन् । राष्ट्रपति निकोलस मदुरोको भेनेजुएली सरकार पश्चिमी गोलार्द्धका थोरै अमेरिकाविरोधी सरकारमध्ये एक हो । सन् २०१३ देखि निरन्तर सत्तामा रहेका मदुरोलाई हटाउन ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सक्दो प्रयास गरेका थिए ।
बढ्दो तनावबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई भेनेजुयलाभित्रै प्रवेश गराउँदै स्थल अप्रेसनको योजनाबारे विरोधाभाषी सन्देश दिइरहेका छन् । उनले यस्तो सम्भावनालाई अस्वीकार गरेका पनि छैनन् । फेरि उनी आफूलेक भेनेजुयलामाथि आक्रमण गर्ने योजना नबनाएको पनि बताउँछन् । तथापि, ट्रम्पले त्यहाँभित्र सिआइए अपे्रसनलाई भने स्वीकृति दिइसकेका छन् ।
अमेरिकाले कसरी आक्रमण गर्न सक्छ ?
भेनेजुयलामा आक्रमण गर्न अमेरिकासँग कैयौँ सैन्य विकल्प रहेको विश्लेषक बताउँछन् । अधिकांशले स्थल सेनाको सट्टा हवाई र समुद्री शक्ति प्रयोगको सम्भावनामाथि जोड दिएका छन् । हालैका महिनामा भेनेजुयलाको तटनजिकै ठुलो संख्यामा अमेरिकी हवाई तथा नौसेना तथा उपकरण तैनाथ गरिएका छन् । यसमा विश्वको सबैभन्दा ठुलो युद्धपोत ‘युएसएस गेराल्ड फोर्ड’समेत समावेश छ ।
‘आक्रमण भए सुरुमा सम्भवत: आकाश र समुद्रबाट लामो दूरीको क्षेप्यास्त्र हानिनेछ, किनभने भेनेजुयलाको हवाई प्रतिरक्षा प्रणाली तुलनात्मक रूपमा बलियो छ,’ अवकाश प्राप्त अमेरिकी नौसेना तथा सेन्टर फर स्ट्रटेजिक एन्ड इन्टरनेसनल स्टडिजका शीर्ष सल्लाहकार मार्क क्यान्सियनले भने । लगभग सबै विज्ञ अमेरिकाले भेनेजुयलाभित्र स्थल सेना पठाउनेमा प्रश्न गर्छन् । विशेषत: इराक युद्धको असफलता र अमेरिकी सेना अफगानिस्तानबाट असफल भएर फर्केको धेरै नभएको परिप्रेक्षमा स्थल अप्रेसन अमेरिकी जनतामाझ पनि मान्य हुनेछैन ।
‘स्थल सैन्य अभियानले अमेरिकाभित्रै ठुलो कानुनी अवरोध सामना गर्नुपर्ने हुन्छ । विशेषत: इराक र अफगानिस्तानको अनुभवका कारण यस्तो अभियानले संसद्मा धक्का खानेछ,’ नेदरल्यान्ड्सको लेडेन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययनको नेतृत्व गरिरहेका साल्भाडोर सान्टिनो रेगिलमेले भने ।
वासिंटनका केही नीति–निर्माताले अमेरिकी सैन्य कारबाहीले मदुरो सरकार ढल्ने र नयाँ राजनीतिक संक्रमण सुरु हुने आशा गरेका छन् । तर, सैन्य विश्लेषक भने त्यस्तो कारबाहीले काराकसमा लामो अस्थिरता निम्त्याउने चेतावनी दिन्छन् । ‘ओरिनाको रिसर्च’का संस्थापक तथा भेनेजुएली मिडिया संस्था गुआकामायाका प्रमुख सम्पादक एलियास फेरर आक्रमणको विचारलाई ‘पान्डोरा बक्स’ खुल्ने माध्यमका रूपमा वर्णन गर्छन् । ‘द्वन्द्वमा सशस्त्र पक्षहरू सशक्त बन्छन् । अब सेना आफैँ वा अर्धसैनिक पक्षले राजनीतिक रूपमा प्रेरित भएर होस् वा संगठित अपराधको उद्देश्यले देशका केही भाग कब्जा गर्ने प्रयास गर्न सक्छन् । परिणाम त्यति मात्र हुनेछैन । यीलगायत धेरै सम्भावना ह्वात्तै बढ्नेछ,’ फेररले भने । यस्तो अवस्थामा विपक्षी राजनीतिक शक्ति सबैभन्दा बढी समस्यामा पर्ने फेररको मूल्यांकन छ । ‘भेनेजुयलाको विपक्षी दलको आफ्नै सैन्य समूह नभएको र विद्यमान सुरक्षा बलसँग बलियो सम्बन्ध नभएकाले उनीहरूलाई धेरै घाटा लाग्नेछ,’ उनले भने ।
केही विश्लेषकले त सीमित अमेरिकी आक्रमणले छोटो अवधिमा मदुरो सरकारलाई नै बलियो बनाउने बताउँछन् । ‘बाह्य आक्रमणले आफूभित्रको विमतिलाई मिलाउने अवसर दिन्छ भने त्यति वेला सत्ताविरोधीलाई देशद्रोहको रूपमा अपराधीकरण गर्न पनि सजिलो बहाना भेटिन्छ,’ लेडेन विश्वविद्यालयका सान्टिनो रेजिलमेले भने, ‘भेनेजुयलाका विपक्षीहरू पहिले नै खण्डित छन् । अझ अमेरिकी आक्रमणपछि त्यसको स्वागत गर्ने र विदेशी आक्रमणको पक्षधरका रूपमा बदनाम हुने डरले विरोध गर्नेबिच थप विभाजित हुनेछन् । इराक, लिबियालगायतको अनुभवले पनि जबर्जस्ती बाह्य हस्तक्षेपले बिरलै स्थिर लोकतन्त्र उत्पादन गरेको देखाउँछ ।’
बढ्दो तनावका बाबजुद मदुरो र उनको सरकारले खुलेर आक्रमणको सामना गर्ने बताएको छ । तिनले सम्भावित अमेरिकी आक्रमणलाई राष्ट्रिय सार्वभौमिकतामाथिको प्रहारको रूपमा चित्रण गरिरहेका छन् । ‘अमेरिकीहरूले बमबारीले सबै कुरा अन्त्य हुने सोचेका छन् । यो देशमा त्यस्तो चल्दैन,’ गृहमन्त्री डिओस्दादो काबेलोले नोभेम्बरको सुरुमा सरकारी टेलिभिजनमा खिल्ली उडाउँदै भनेका थिए । मदुरोले भर्खरै उही भाकामा जवाफ दिएका थिए । ‘हामी शान्ति चाहन्छौँ । तर, त्यस्तो शान्ति सार्वभौमिकता, समानता र स्वतन्त्रतासहितको हुनुपर्छ । हामी दासहरूले पाउने शान्ति चाहँदैनौँ,’ मदुरोले राष्ट्रपति भवनअघि भेला भएका समर्थकलाई सम्बोधन गर्ने क्रममा भनेका थिए ।
के हो अमेरिकाको रणनीति ?
ट्रम्प प्रशासनले गुप्तचर अभियान चलाएर भेनेजुयलाको सेनाभित्र शीर्ष तहलाई मदुरो सरकार त्याग्न प्रेरित गरिरहेको छ । ‘संयुक्त राज्य अमेरिकाले आक्रमणको समयमा सेना तिनको ब्यारेकबाहिर ननिस्कनेमा उनीहरूलाई निसाना नबनाउने सन्देश पठाएजस्तो देखिन्छ । अमेरिकाले पहिलो खाडी युद्धमा यही रणनीति सफलतापूर्वक प्रयोग गरेको थियो,’ नौसेनाका अवकाश प्राप्त कर्णेल क्यान्सियनले भने । सन् १९९१ को खाडी युद्धमा अमेरिकी अधिकारीले केही इराकी सैन्य टुकडीलाई उनीहरू आफ्नो ब्यारेकबाट बाहिर ननिस्केमा उनीहरूलाई लक्षित नगरिने सन्देश दिएको थियो ।
त्यस सन्देशअनुरूप काम हुँदा पश्चिमी शक्तिले छोटो समयमै इराकी फौजलाई कुवेतबाट बाहिर निकाल्न सकेको थियो । क्यान्सियनका अनुसार भेनेजुयला सरकारले सेनाभित्र प्रतिरोध गर्ने सम्भावना भएकालाई छानेर हटाएकाले सेना र सुरक्षा बलले लड्ने सम्भावना उच्च देखिन्छ ।
आम भेनेजुएली र विश्वले कस्तो प्रतिक्रिया जनाउलान् ?
अमेरिकाले आक्रमण गरेमा आम भेनेजुएली नागरिकले कस्तो प्रतिक्रिया जनाउलान् भन्ने प्रश्नको जवाफ सहज नभएको विश्लेषकहरू बताउँछन् । ‘भेनेजुएली नागरिकले पहिले नै लामो सामाजिक–आर्थिक पतन, उच्च मुद्रास्फीति, व्यापक अभाव, अन्तर्राष्ट्रिय प्रतिबन्ध र विश्वको सबैभन्दा ठुलो विस्थापन संकट भोगिसकेका छन्,’ लेडेन विश्वविद्यालयका सान्टिनो रेजिलमेले भने ।
पछिल्लो एक अनुमानअनुसार यो वर्ष करिब ७९ लाख भेनेजुएली अभावबिच बाँचिरहेका छन्, जुन देशको कुल जनसंख्याको झन्डै २८–३० प्रतिशत जनसंख्या हो । ‘यस्तोमा आमनागरिकले अमेरिकी आक्रमणलाई वर्तमान शासनबाट मुक्तिभन्दा असुरक्षाको अर्को तहको रूपमा बढी अनुभव गर्नेछन् । खाना, औषधि, बिजुली र आधारभूत सेवाहरूमाथिको बचेखुचेको पहुँच पनि अन्त्य हुनेछ,’ रेजिल्मेले भने । सर्वेक्षणले आम मानिसमा सरकार र विदेशी सैन्य हस्तक्षेप दुवैप्रति गहिरो अविश्वास देखाएको छ ।
अर्कोतर्फ क्षेत्रीय र विश्व शक्तिले काराकाससँगको उनीहरूको विद्यमान रणनीतिक सम्बन्धलाई अनुसार प्रतिक्रिया दिने सम्भावना छ । चीन अहिले भेनेजुयलाको सबैभन्दा ठुलो ऋणदाता र आर्थिक साझेदारमध्ये एक बनेको छ । चीनले मदुरोका लागि दृढ कूटनीतिक समर्थन कायम राख्ने अपेक्षा गरिएको छ । तर, भेनेजुयलामा अमेरिकी आक्रमण भएमा चीनले खुलेर परिस्थितिलाई प्रभावित पार्ने सामर्थ राख्दैन । उता, रुस भेनेजुयलाको सबैभन्दा ठुलो सैन्य सहयोगी हो । दुई मुलुकबिच अहिले प्रत्यक्ष सैन्य सम्बन्ध छ । मस्कोले मदुरो सरकारलाई उन्नत हतियार प्रणाली आपूर्ति गरिरहेको छ भने भेनेजुएली सैनिकलाई तालिमसमेत दिने गरेको छ । दुई देशबिच वर्षौंदेखि गुप्तचर सहयोग चलिरहेको छ । यी दुवै देश मदुरोको शासन रहेसम्म राजनीतिक रूपमा मादुरोसँग गठबन्धनमा रहनेछन् ।
– अल जजिराका लागि एलिजाबेथ मेलिमोपोलोसको आलेख