नलिन्चोक हेलिपोर्ट भ्रष्टाचार मुद्दा, अधिकारीको थुनछेक बहस आज

आइतबार, २२ मंसिर, २०८२
डिजिटल संस्करण
नलिन्चोक हेलिपोर्ट भ्रष्टाचार मुद्दा, अधिकारीको थुनछेक बहस आज

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माण गर्दा १३ करोड ५७ लाख भ्रष्टाचारमा आरोपित नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (निलम्बित) प्रदीप अधिकारी आइतबार थुनछेक बहस हुँदै छ । मुद्दामा शुक्रबार थुनछेक बहस हुन नपाएपछि उनी अख्तियार हिरासतमा छन् । 

हेलिपोर्ट निर्माणमा अनियमितताको आरोपमा अख्तियारले महानिर्देशक अधिकारीसहित ६ जना र एक कम्पनीविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले अधिकारी र प्राधिकरणकै तत्कालीन निर्देशक मुरारी भण्डारीलाई नियन्त्रणमा लिएर मुद्दासहित अदालतमा बुझाएको थियो । मुद्दासँगै उपस्थित भएका अधिकारी र भण्डारीको थुनछेक बहस समय अभावका कारण त्यसै दिन सम्भव नभएपछि शुक्रबारका लागि तोकिएको थियो । बिहीबार सार्वजनिक बिदा थियो । शुक्रबार उनीहरूउपरको थुनछेक बहसको कार्य प्रारम्भ भए पनि पूरा हुन पाएन । 

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासमा शुक्रबार थुनछेक बहसका लागि पेसी तोकिएको थियो । इजलासमा अधिकारी र भण्डारीको बयान भएको थियो । बयान सकिएपछि थुनछेक बहस भने अघि बढ्न नसकेको उपरजिस्ट्रार मुकुन्द निरौलाले बताए । तर, एकजना न्यायाधीश पौडेलले मुद्दा हेर्न नमिल्ने भएपछि स्थगित भएको अदालतका एक कर्मचारीले बताए । महानिर्देशक अधिकारीसँग सम्बन्धित निषेधाज्ञा मुद्दामा पाटन उच्च अदालतमा न्यायाधीश हुँदा आदेश गरेका कारण र त्यसको प्रमाण वकिलहरूले पेस गरेपछि पौडेलले हेर्न नमिल्ने अवस्था भएको हो । 

थुनछेक बहस हुन नसकेपछि अदालतले दुवै प्रतिवादीलाई अख्तियारमै फिर्ता पठाएको छ । दुवैजना अख्तियारकै हिरासतमा फर्किएका छन् । आइतबार पौडेलबाहेकको इजलास पारेर मुद्दा पेस हुने र थुनछेक बहस हुने अदालतको भनाइ छ । 

सुझावित समाचार