हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा सडक विस्तारलाई लिएर रास्वपाका पूर्वसांसद विन्दवासिनी कंसाकारको परिवारले शनिबार साँझ सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन्।
सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत बलपूर्वक सडक विस्तार गरिएको आरोप लगाउँदै कंसाकार परिवारले त्रिभुवन राजपथअन्तर्गत हेटौँडा–२, पिपलबोटस्थित आफ्नो घरअगाडि सडकमा टायर तथा काठ जलाएर आवागमन रोक्ने प्रयाससमेत गरेका थिए। कंसाकार परिवारले सडक सिमानाभित्र पर्ने संरचना हटाउन नपाउने भन्दै सर्वोच्च अदालतले जारी गरेको ‘स्टे अर्डर’ को अवहेलनामा प्रशासनले डोजर परिचालन गरेको दाबी गरेका छन्।
प्रशासनको व्यवहारप्रति आपत्ति जनाउँदै प्रदर्शनमा सहभागी परिवारका सदस्यहरू आगो बाल्दै नारा जुलुसमा उत्रिएका थिए। आगजनीका कारण केही समयसम्म सो क्षेत्रको यातायात व्यवस्थामा अवरोध देखिएको थियो।
यता, प्रशासनले भने हेटौँडा बजार क्षेत्रमा सडक क्षेत्राधिकारभित्र पर्ने अवैध संरचना हटाउने अभियान जारी रहेको जनाएको छ। शनिबार बिहानैदेखि सडक डिभिजन कार्यालय हेटौँडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथका सडक सीमाभित्र निर्माण भएका संरचना जेसिबी प्रयोग गरी हटाउन थालिएको हो।
उक्त अभियानअन्तर्गत हेटौँडा–१५, रातमाटेबाट बुद्धचोक हुँदै राप्ती पुल तथा बुद्ध चोकदेखि सामरी पुलसम्मको करिब ९.५ किलोमिटर दूरीमा एसियन हाइवेको मापदण्डअनुसार सडक सिमाना २५/२५ मिटर (हाल २५-२५ गज अर्थात् २२.५ मिटर) क्षेत्र खाली गराउने लक्ष्यसहित संरचना हटाउने कार्य तीव्र गतिमा अघि बढाइँदै आएको प्रशासनले जनाएको छ।
सडक विस्तारसँगै स्थानीयवासी र व्यापारीमा असन्तोष बढ्दै गएको छ भने सर्वोच्च अदालतको आदेश र प्रशासनिक निर्णयबिचको विवाद झन् गहिरिँदै गएको छ।