अपराजित रहँदै क्वालिफायर्स वान खेल्ने पक्का गरेको सुदूरपश्चिम रोयल्सले दोस्रो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सलाई एक सय ४८ रनको लक्ष्य दिएको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ४७ रन बनाएको हो ।
सुदूरपश्चिमको लागि आरिफ शेखले अविजित सर्वाधिक ४५ रन बनाए । उनले ३२ बलमा एक चौका र ३ छक्का हिर्काएका थिए । इशान पाण्डेले ३८ रन बनाए । ३५ बलमा समान दुई चौका र छक्का हिर्काएका उनलाई सन्दीप लामिछानेले मार्चन्ड डि लिग्नेबाट क्याच गराएका थिए ।
तेस्रो विकेटको लागि इशानले आसिफ शेखसँग ५० बलमा सर्वाधिक ७२ रनको साझेदारी गरे । ७.६ ओभरमा दोस्रो विकेटको रुपमा जस ब्राउन आउट हुँदा सुदूरपश्चिमले मात्र ४२ रन बनाएको थियो । त्यसपछि आरिफ र इशानले टोलीलाई सम्मानजनक स्कोरतर्फ बढाएका हुन् ।
११ बलमा १९ रन बनाएका कप्तान दीपेन्द्रसिंह ऐरीलाई प्रतिश जिसीले हेजलेटबाट क्याच गराउँदै पेभिलियन फर्काएका थिए ।
यसअघि ओपनस जस ब्राउनले ३५ बलमा २४ रन बनाए । अर्का ओपनर विनोद भण्डारीले १५ रनको योगदान गरे । ब्राउन र भण्डारीबीच पहिलो विकेटको लागि २५ रनको साझेदारी भएको हो । अराउन्डर हर्मित सिंहलाई सन्दीपले डक आउट भए ।
विराटनगरका कप्तान तथा मार्की सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । ४ ओभर नै बलिङ गरेको सन्दीपले २० रन खर्चिँदा जस ब्राउन, इशान पाण्डे र हर्मित सिंहको महत्वपूर्ण विकेट लिएका थिए । बसिर अहमद र प्रतिश जिसीले समान एक विकेट लिएका थिए । तीन ओभर बलिङ गरेका सुर्य तामाङसँगै डि लाग्ने र नरेन भट्ट विकेट बिहिन भएका थिए ।
प्रतियोगितामा सुदूरपश्चिमले अपराजित यात्रा कायम राखेको छ । ६ खेलबाट १२ अंकसहित टोली शीर्षस्थानमा रहँदै क्वालिफायर्स १ लाई छनोट भएको हो ।
तेस्रो स्थानमा रहेको विराटनगरले ६ मध्ये ४ खेल जित्दै ८ अंक जोडेको छ । पहिलो पटक प्लेअफमा स्थान बनाएको विराटनगर सुदूरपश्चिमलाई ठूलो अन्तरले हराउँदै क्वालिफायर्स १ खेल्ने योजनामा छ । यदि हार वा सानो अन्तरको जितले टोली इलिमिनेटरको लागि छनोट हुनेछ । विराटनगर लुम्बिनी र चितवनसँग पराजित हुँदा पोखरा, काठमाडौं, जनकपुर र कर्णालीलाई पराजित गर्न सफल भएको थियो ।
प्रतियोगितामा सुदूरपश्चिम र विराटनगरसँगै काठमाडों र लुम्बिनी प्लेअफमा स्थान बनाएका छन् । पोखरा, चितवन, कर्णाली र साविक विजेता जनकपुर भने समूह चरणबाट माथि बढ्न सकेनन् ।