पांमा कपको उपाधि भोजपुर सोमबारे क्लबले जित्यो

शुक्रबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण

नवौँ संस्करणको पांमा कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि भोजपुर सोमबारे क्लबले जितेको छ।

संखुवासभाको खाँदबारी नगरपालिका– ४, पांमास्थित भगीवन्त रंगशालामा शुक्रबार भएको उपाधि भिडन्तमा भोजपुर सोमबारे क्लबले संखुवासभाको मकालु फ्रेन्ड्स क्लबलाई २–१ को अन्तरले हराएको हो।

खेलमा हाफ टाइमअघि मकालु फ्रेन्ड्सका विदेशी खेलाडी एलेक्सले टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि झनै आक्रामक खेले पनि मकालु फ्रेन्ड्सले थप गोल गर्न सकेन। खेलको अन्तिम चरणमा सोमबारे क्लबका विदेशी खेलाडी अजय मार्टिनले एक गोल फर्काए। त्यसको केही मिनेटभित्रै सोमबारेका अर्का विदेशी खेलाडी रिचार्ड उल्सनले एक गाेल थप गर्दै क्लबलाई उपाधि दिलाएका हुन्। मकालु फ्रेन्ड्सले उपविजेतामै चित्त बुझायो।

प्रतियोगितामा सभापोखरी फुटबल क्लब र खाँदबारी युथ क्लब सेमिफाइनलिस्ट बने। विजेताले दुई लाख ५० हजार, उपविजेताले एक लाख तथा सान्त्वना दुई टिम सभापोखरी र खाँदबारीले २५–२५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

प्रतियोगितामा उत्कृष्ट डिफेन्डर मकालु फ्रेन्ड्सका प्रवेश दनुवार बने भने बेस्ट स्ट्राइकर सोमबारेका मिलन चाम्लिङ घोषित भए। त्यसैगरी, उत्कृष्ट गोलकिपर सोमबारेका विजय गच्छदार बने भने सर्वाधिक गोलकर्ता सोमबारेकै अजय मार्टिन घोषित भए। प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि सोमबारेकै धीरेन क्षेत्री घोषित भए। विधागतमा उत्कृष्टहरूलाई जनही पाँच–पाँच हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो।

सुझावित समाचार