तालिकाको पुछारमा रहेको जनकपुर बोल्ट्सले दोस्रो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सलाई १३३ रनको लक्ष्य दिएको छ। शुक्रबार त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनायो।
प्लेअफमा स्थान बनाउन आजको खेलमा दुवै टोलीलाई जित्नैपर्ने दबाब छ। आज लुम्बिनीको हारले जनकपुरको प्लेअफ सम्भावना बढ्नेछ। लुम्बिनीलाई आजको खेल जितेर सिधै प्लेअफमा स्थान बनाउने अवसर छ। यदि लुम्बिनी खेलमा विजयी भए जनकपुरसँगै पोखरा र चितवनको पनि सम्भावना सकिनेछ।
लिग चरणको २५औँ खेलमा जनकपुरका लागि संगिथ कोरीले अविजित सर्वाधिक ४५ रन बनाए। ३० वर्षीय श्रीलंकन ब्याटरले ३८ बलमा दुई चौका र एक छक्का हिर्काएका हुन्। उनको एनपिएलमा यो दोस्रो खेल हो। मयन यादवले २३ बलमा २७ रन जोडेका छन्।
१३.३ ओभरमा ६ विकेट गुमाउँदा जनकपुरले मात्र ८३ रन बनाएको थियो। त्यसपछि संगिथ र मयनले सातौँ विकेटका लागि ३९ बलमा ४९ रनको साझेदारी गर्दै टोलीलाई मध्यम योगफलतर्फ पुर्याए।
ओपनर आसिफ शेखले २० रन जोडे। १७ बलमा दुई चौका र एक छक्का हिर्काएका उनलाई शेर मल्लले रुवेन ट्रम्पलमेनबाट क्याच गराएका हुन्। सञ्जय कृष्णमुर्थीले १४ तथा शुक कंसाकारले ११ रनको योगदान गरे। यसअघि पाकिस्तानी ओपनर माज सदाकातले ६ तथा तेस्रो नम्बर क्रिजमा आएका पूर्वकप्तान अनिल कुमार शाहले सात रन मात्रै बनाए।
पहिलोपटक कप्तानी जिम्मेवारी पाएका जान निकोल इटन नै डकआउट भए। उनलाई लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले डकआउट गरेका हुन्। इटन एलबिडब्लू धरापमा परेका थिए। जनकपुरले पाँच खेलमा तीन कप्तान चयन गरेको छ। पछिल्लो दुई खेलमा कप्तानी गरेका वायन पार्नलीलाई विश्राम दिइएको छ। सुरुका दुई खेलमा अनिलले कप्तानी गरेका थिए। जनकपुरले लगातार खराब प्रदर्शनपछि ललित राजवंशीलाई दोस्रोपटक पनि बेन्चमै राखेको छ।
लुम्बिनीका लागि कप्तान रोहित र शेर मल्लले समान दुई विकेट लिए। जेजे स्मिथ र रुवेनले समान एक विकेट हात पारे।
लुम्बिनी पछिल्लो दुई खेलमा लगातार जित निकाल्न सफल भएको छ। उसले छैटौँ खेलमा विराटनगरलाई पाँच तथा पाँचौँ खेलमा पोखरालाई तीन विकेटले पराजित गरेको थियो। पहिलो खेलमा लुम्बिनीले चितवनलाई ६ विकेटले हराएको हो। यता, टोली दोस्रो खेलमा कर्णालीसँग नाै विकेटले पराजित भएपछि लय गुमायो। तेस्रो खेलमा काठमाडौंसँग २२ रन र चौथो खेलमा सुदूरपश्चिमसँग सात विकेटले पराजित भएको थियो।
साबिक विजेता जनकपुर भने प्रतियोगितामा खराब प्रदर्शनबाट गुज्रिएको छ। पछिल्लो खेलमा चितवनविरुद्ध ६ विकेटको जित निकाल्दै प्रतियोगिताकै पहिलो जित निकालेको थियो। त्यसअघि टोली पहिलो खेलमा काठमाडौंसँग पाँच विकेट, विराटनगरसँग नाै रन, पोखरासँग २५ रन तथा सुदूरपश्चिमसँग ६ विकेटले पराजित भएको थियो।