- झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म एक सय २० किलोमिटर सडकमध्ये ९५ किलोमिटर मात्रै लागेको छ ठेक्का
- ६ ठुला नदीमा पुल निर्माणको कार्यमा २५ प्रतिशत मात्रै प्रगति
पूर्व–पश्चिम राजमार्गलाई एसियन हाइवेसँग जोड्न चार लेनमा विस्तार गर्ने योजनाअन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको खण्ड ठेक्का लागेको दुई वर्ष बित्न लाग्दा २९ प्रतिशत मात्रै प्रगति भएको छ । तीन वर्षमा सक्ने गरी लगाइएको ठेक्काको म्याद १९ माघ ०८३ सम्म रहेको छ ।
दुई खण्डमा विभाजन गरिएको ठेक्काको काँकडभिट्टा–लौकही खण्ड अब १४ महिनामा करिब ७१ प्रतिशत काम सक्नुपर्ने भएको छ । एसियाली विकास बैंकको तीन सय मिलियन डलर ऋण सहायता र नेपालको लगानीमा चार लेनमा विस्तार हुँदै गरेकोे काँकडभिट्टा–लौकही सडकलाई दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ । पूर्वी खण्ड र पश्चिम खण्डमा विभाजन गरी दुई कार्यालयले यसको काम गराइरहेका छन् । यसलाई पनि विभिन्न खण्ड बनाएर ठेक्का लगाइएको छ । काँकडभिट्टादेखि लौकहीसम्मको एक सय २० किलोमिटर सडक ठेक्कामा लगाउनुपर्ने भए पनि सुनसरीको लबिपुरसम्मको ९५ किलोमिटर मात्रै ठेक्का लागेको छ ।
९५ किलोमिटर सडक विस्तार र यसमा पर्ने पुल निर्माणका लागि २ कात्तिक ०८० मा सम्झौता भएको थियो । सम्झौताअनुसार १९ माघ ०८३ सम्म काम सम्पन्न गर्नुपर्छ । ठेक्का २ कात्तिक ०८० मा लागेको भए पनि काम माघदेखि सुरु भएको हो ।
निर्माण थालिएको दुई वर्ष हुनै लाग्दा पनि कामको गति भने सुस्त रहेको छ । यो अवधिमा सडक निर्माणको काम दुवै खण्डमा गरी करिब २९ प्रतिशत मात्र भएको छ भने सडकमा पर्ने ६ वटा ठुला नदीमा पुल निर्माणका लागि छुट्टै ठेक्का लगाइएकोे छ । पुल निर्माणको काम भने २५ प्रतिशत हाराहारी मात्र छ । दुई खण्डमध्ये पूर्वी खण्डमा काम केही अघि बढेको छ भने पश्चिमी खण्ड सुस्त छ ।
पूर्वी खण्डमा १६ अर्बको ठेक्का
पूर्वीखण्ड अर्थात् झापा काँकडभिट्टादेखि झापाकै कमल गाउँपालिकास्थित केर्खासम्मको ४५ किलोमिटर सडक पर्छ । यो खण्डमा सडक निर्माणको काम २९ प्रतिशत सम्पन्न भएको काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वीखण्ड)का प्रमुख सुनीलबाबु पन्तले जानकारी दिए । यो खण्डमा पर्ने तीन पुलको काम भने पश्चिम खण्डको पुलको कामभन्दा केही कमी छ । पूर्वी खण्डमा पर्ने कन्काई, निन्दा र बिरिङ नदीको पुलको काम २१ प्रतिशत मात्र सम्पन्न भएको उनले बताए । यी तीन पुल निर्माणका लागि कोभेक–सिआरइजिसी–टुन्डी जेभीले पाँच अर्ब ९७ करोडमा ठेक्का लिएका छन् । ४५ किलोमिटर सडक निर्माणको ठेक्का भने १० अर्ब ६ करोडमा एभरसकोन–कालिका जेभीले ठेक्का लिएको हो । अहिलेसम्म विभिन्न ठाउँमा तीन किलोमिटर सडक एकतर्फी कालोपत्रे भएको आयोजना प्रमुख पन्तले जानकारी दिए ।
‘कामको प्रगति केही कम नै छ । सुरुवाती अवस्थामा केही थोरै पनि हुन्छ । अब कामले गति लिन्छ । यो वर्ष कामले गति लिन सक्यो भने हामी समयमा काम सक्छौँ,’ उनले भने, ‘एकतर्फी सडक कालोपत्रे सक्ने गरी हामी लागेका छौँ । कालोपत्रे सकियो भने पनि सडक कालोपत्रे भयो भनेर आशा जगाउँछ । दक्ष कामदारको अभावलगायत कारणले केही ढिला भएको हो । अब मान्छे थपेर काम गर्ने निर्माण व्यवसायीको प्रतिबद्धता छ ।’
पश्चिम खण्डमा ५० किलोमिटर बन्दै
केर्खादेखि पश्चिम सुनसरीको लबिपुरसम्मको ५०.७६ किलोमिटर सडक विस्तारको काम भने करिब २६ प्रतिशत मात्र सम्पन्न भएको काँकडभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड)का प्रमुख जगत प्रजापतिले बताए । यो सडकखण्डमा पनि लक्ष्यभन्दा करिब १० प्रतिशत काम कम भएको उनले बताए । यो खण्डमा करिब दुई वर्षको अविधिमा विभिन्न ठाउँमा आठ किलोमिटर सडक कालोपत्रे भएको उनले बताए । ‘सडकको काममा केही कम गति भएको छ । तर, अब जेठसम्म सडक निर्माणले गति लिन्छ । यो अवधिमा करिब ६० प्रतिशत काम पुर्याउने लक्ष्य राखेका छौँ । त्यसका लागि कामको गति बढाउन हामीले निर्माण व्यवसायीलाई बारम्बार पत्राचार पनि गरिरहेका छौँ,’ प्रजापतिले भने, ‘तर, बिजुलीका पोलहरू हटाउन नसक्दा समस्या भएको छ । यो काम गर्ने अवधिमा पोलहरू हटाउन सकेनौँ भने काम एक वर्ष पछि धकेलिन्छ । कामको अवधिको ६० प्रतिशत पुग्दा पनि बिजुलीको पोल हटाउन सकेका छैनौँ । तीन हजारभन्दा बढी पोल सार्नुपर्नेमा हालसम्म एक हजार पनि सार्न सकिएको छैन ।’
यद्यपि, अबको काम सडक निर्माणको सुरुवाती चरणभन्दा द्रुत गतिमा अघि बढ्ने उनले बताए । केर्खादेखि पश्चिम मोरङको गोठगाउँसम्मको ४० किलोमिटर सडक सिआरएफजी–टुन्डी जेभीले नौ अर्ब १३ करोडमा ठेक्का लिएको छ ।