लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास भएको छ ।दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी करिब रु. २५ करोड ७० लाख ८६ हजार ६९८को लागतमा प्रशासनिक भवन बन्न लागेको लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले जानकारी दिइन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका– ३ मा बन्ने प्रशासकीय भवनको तीनवटा धर्मगुरुहरू हिन्दु, मुस्लिम र बुद्धिस्ट धर्मअनुसार धर्मगुरुहरूले आ–आफ्नो तरिकाबाट पाठहरू पढेर पूजा–आराधना गरी भवन शिलान्यास गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले जानकारी दिइन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख स्व. सजरुद्दिन मुसलमानको नेतृत्वमा जग्गा व्यवस्थापनसहित भवन निर्माणका लागि पहल भएको थियो । लुम्बिनी सांस्कृतिक नगरपालिका– ३ स्थित लंकापुर र ठुलो पडरियाको बिच स्थानमा तीन बिघा दस कट्ठा क्षेत्रफलमा सो भवन निर्माण हुन लागेको हो । नेपाल सरकार एसियाली विकास बैंक र लुम्बिनी सांस्कृतिक नगरपालिकाको आर्थिक एवं प्राविधिक सहयोग तथा कन्ट्याक्ट बाबुल एनबी जेभी निर्माण व्यवसायीले सो निर्माण गर्नेछ ।
शिलान्यास कार्यक्रममा नगरपालिकाका कार्यवाहक नगरप्रमुख करिपल्ना हरिजन, प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, उपसचिव हरिप्रसाद ज्ञवाली, पूर्वनगरप्रमुख, उप्रमुख, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, पूर्वजनप्रतिनिधिहरूको सहभागितामा संयुक्त रूपमा प्रशासनिक भवनको शिलान्यास गरिएको नगरपालिकाका समन्वय शाखाका तुल्सीराम लामिछानेले जानकारी दिए।
नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले भवन निर्माणका लागि जग्गा दान गर्ने जग्गादाताहरूप्रति सम्मान प्रकट गर्दै जनअपेक्षाअनुसार प्रशासनिक भवन निर्माण हुने बताइन् । समृद्ध नगर बनाउन सबैको साझा संकल्प आवश्यक रहेको भन्दै हरिजनले सबैसँग हातेमालो गर्न आह्वान गरिन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले सबैको अथक प्रयासले स्तरीय प्रशासनिक भवन बन्न लागेको बताइन् । प्रशासनिक क्षेत्रबाट जनताले सहज रूपमा सेवा पाए मात्र सिंहदरबारको अधिकार गाउँगाउँमा आएको जनताले महसुस ज्ञवालीले बताइन् ।
सो अवसरमा भवन निर्माण स्थलसम्म जाने बाटोका लागि जग्गा निःशुल्क उपलब्ध गराउने जग्गादाताहरू मोहम्मद जुबेर मुसलमान, अब्दुल सलाम मुसलमान, जियाउल्लाह मुसलमान, सब्बिर अहमद, हमिउद्दिन फिकर, कमरुद्दिन फकिर, मोहम्मद हारुन मुसलमानलाई सम्मान गरिएको थियो ।