सुदूरपश्चिम पहिलो क्वालिफायर

लगातार चार जित निकालेको काठमाडौं गोर्खाज र चितवन राइनोजको हारले विराटनगर किंग्स प्लेअफमा

शुक्रबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण

साबिक उपविजेता सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो क्वालिफायरमा प्रवेश गरेको छ । सुदूरपश्चिमले लगातार ६ खेलमा जित निकाली सर्वाधिक १२ अंक जोडेर शीर्ष स्थानमा रहने पक्का गरेको छ । योसँगै सुदूरपश्चिम पहिलो क्वालिफायरमा पुगेको छ । ६ खेलमा जित निकाल्ने क्रममा सदूरपश्चिमले बिहीबार चितवन राइनोजमाथि ४९ रनको सानदार जित निकाल्यो । पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा चार विकेट गुमाएर १६९ रन बनाएको थियो । प्रत्युत्तरमा चितवन १७.१ ओभरमा १२० रनमा समेटियो । 

चितवनका डेभिड मालनलाई रनआउट गरेपछि सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी । 

चौथो हारले चितवनको प्लेअफको सम्भावना कमजोर बनेको छ । ६ खेलबाट ४ अंक बटुलेको चितवन छैटौँ स्थानमा छ । सुदूरपश्चिमको जित र चितवनको हारले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सको भाग्य चम्कियो । एक खेलअगाडि नै विराटनगर ८ अंकका साथ प्लेअफमा पुगेको छ । ६ खेल खेलेको विराटनगर तेस्रो स्थानमा छ । अब विराटनगरलाई लुम्बिनीबाहेक अन्य कुनै पनि टोलीले भेट्टाउन सक्ने अवस्था छैन । 

त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सले शुक्रबार जनकपुर बोल्ट्सलाई हराए दोस्रो एनपिएलकै शीर्ष चारको समीकरण पूरा हुनेछ । प्रतियोगिताअन्तर्गत बिहीबार पोखरा एभेन्जर्स र चितवनको हारले त्यसको सबैभन्दा बढी फाइदा लुम्बिनीलाई पुगेको छ । अब लुम्बिनीलाई केवल एक जित मात्र आवश्यक छ । लुम्बिनीको जितले पोखरा, चितवन र जनकपुरको प्लेअफमा पुग्ने सम्भावना समाप्त हुनेछ । प्रतियोगिताअन्तर्गत २३औँ खेलमा काठमाडौं गोर्खाजले पोखरामाथि १३ रनको रामोञ्चक जित निकाली प्लेअफमा स्थान सुरक्षित गरेको हो । 

समग्रमा पाँच जित निकालेको काठमाडौंले १० अंक बनाएको छ । काठमाडौंले आफ्नो सबै सात खेल खेलेको छ । पहिलो ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा आठ विकेट गुमाएर १६५ रन बनाएको थियो । प्रत्युत्तरमा पोखरा २० ओभरमा १५२ रनमा समेटिँदा काठमाडौं दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो । 

ह्याट्रिकसँगै ६ विकेट लिने आलम पहिलो बलर
काठमाडौंका साहब आलम ह्याट्रिकसँगै ६ विकेट लिने दोस्रो संस्करणको एनपिएलमा पहिलो बलर बनेका छन् । आलमले यो उपलब्धि पोखरा एभेन्जर्सविरुद्ध हात पारेका हुन् । उनकै उत्कृष्ट बलिङ प्रदर्शनमा काठमाडौंले पोखरालाई हराउँदै प्लेअफ स्थान सुरक्षित गर्‍यो । पोखरालाई अन्तिम ओभरमा जितका लागि २० रन बनाउनुपर्ने थियो । काठमाडौंका कप्तान करण केसीले स्पिनर साहबलाई बलिङ गर्न लगाए । आलमले १९.१ ओभरमा ऋषि धवनलाई मिलिन्द कुमारबाट क्याच समात्न लगाए । उनले १९.२ ओभरमा विपिन खत्रीलाई सिम्पसनबाट स्टम्पिङ आउट गराए ।

१९.३ ओभरमा उनले आकाश चन्दको विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए । आलम यतिकैमा रोकिएनन् । उनले इनिङ्सकै अन्तिम बलमा सागर ढकाललाई कप्तान करणबाट क्याच आउट गराउँदै आफ्नो ६ विकेटसमेत पूरा गरे । एनपिएल इतिहासमा एकै खेलमा ६ विकेट लिने उनी दोस्रो बलर बनेका छन् । गत संस्करणमा कर्णाली याक्सका विलियम बोसिस्टोले पोखराविरुद्ध २८ रन खर्चेर ६ विकेट हात पारेका थिए । आलम एकै ओभरमा चार विकेटसमेत लिन सफल भए । काठमाडौंको जितमा घातक बलिङ प्रदर्शन गरेका म्यान अफ दी म्याच आलमले केवल २५ रन मात्र दिएका थिए । आलमले आफ्नो बलिङ स्पेलमा १२ डट बल फ्याँक्दा समान एक चौका र छक्का सामना गरेका थिए ।

दोस्रो एनपिएलमा उनी सर्वाधिक १२ विकेट लिने खेलाडीको सूचीमा समावेश भएका छन् । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने, सुदुरपश्चिमका अभिनाश बोहरा र काठमाडौंका कप्तान करणले पनि १२ विकेट लिएका छन् । पोखराको ब्याटिङमा धवनले सर्वाधिक ५४ रनको योगदान दिँदा ३१ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । यसैगरी धनञ्जय लक्षणले २७ बलमा समान एक चौका र छक्का प्रहार गरी ५४ रनको योगदान दिए । यी दुवै ब्याट्सम्यान क्रिजमा रहँदा पोखराले जितको सम्भावना कायमै राखेको थियो । तर, आलमको एकै ओभरको घातक बलिङका कारण पोखरा लक्ष्यसम्म पुग्न सकेन । पोखराका विपिन र आकाश चन्द गोल्डेन डकआउट भएका थिए । 

काठमाडौंको ब्याटिङमा दुई ब्याट्सम्यानले अर्धशतकीय इनिङ्स खेलेका थिए । भीम सार्कीले विस्फोटक ब्याटिङ गर्दै २३ बलमा चार छक्का र पाँच चौकाको सहयोगमा ५५ रनको योगदान दिए । ओपनर वेन चाल्र्सवर्थले ५५ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ६४ रनको योगदान दिएका थिए । वेन र भीमले काठमाडौंलाई ७९–५ बाट १५५–६ को बलियो अवस्थामा राखेका थिए । दुवैले छैटौँ विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए । पोखराको बलिङमा श्रीलंकन खेलाडी धनञ्जयले १६ रन खर्चेर सर्वाधिक चार विकेट लिएका थिए । 

खेलपछिका भनाइ

योजनाअनुरूप नतिजा निस्कियो : भीम सार्की, खेलाडी, काठमाडौं
स्कोर बोर्डमा कठिन अवस्थामा थियौँ । जतिसक्दो रन बढाउनुपर्छ भनेर आक्रामक भएर खेलेँ । पोखराविरुद्ध त्यहीअनुरूप नतिजा आएको हो । आलमको बलिङमा विश्वास थियो । त्रिभुवन आर्मीबाट सँगै खेलिरहेको छु । यसकारण उनको क्षमताबारे थाहा थियो । सुरुका खेलमा कम्बिनेसन त्यति राम्रो भएन । अहिले काठमाडौंको टिम कम्बिनेसन राम्रो छ ।

सुरुको १० ओभर राम्रो ब्याटिङ भएन : धनञ्जय लक्षण, खेलाडी, पोखरा
काठमाडौंविरुद्ध पहिलो १० ओभरमा राम्रो ब्याटिङ गर्न सकेनौँ । महत्वपूर्ण खेलमा हारको प्रमुख कारण नै यही नै थियो । सुरुमा राम्रो रनरेटअनुसार ब्याटिङ गरेको भए जित सहज हुने थियो । ब्याटिङका लागि यो पिच राम्रो थियो । ब्याट्सम्यान सेट हुँदा सहजै रन आउँथ्यो । शीर्ष क्रमका ब्याट्सम्यान चुकेका छन् ।

See More On

सुझावित समाचार