- एक करोड लागतमा एक वर्षभित्र परम्परागत गोलाकार डिजाइनमा घर निर्माण गरिसक्ने योजना
- १५ आना ३ पैसा जग्गा खरिद गरेको दाबी गरिए पनि कसबाट किनेको भन्ने गोप्य
एमालेले अध्यक्ष केपी ओलीका लागि भक्तपुरको गुन्डुमा नयाँ आवास निर्माण औपचारिक रूपमा सुरु गरेको छ । १५ आना तीन पैसा जग्गामा बन्न थालेको निवासलाई एमाले वृत्तमा ‘ओली कुटी’ भनेर प्रचार गरिएको छ ।
ओलीपत्नी राधिका शाक्यले बिहीबार शिलान्यास गरेको यस ‘कुटी महल’ शैलीको घर एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । नेवारी परम्परा र ग्रामीण जीवनशैलीबाट प्रेरित गोलो आकारको अढाईतले आवास स्थानीयकै सहयोगमा बन्ने एमालेको दाबी छ ।
पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतका अनुसार गुन्डुका एक स्थानीय बासिन्दाबाट १५ आना तीन पैसा जग्गा खरिद गरी निर्माण प्रक्रिया थालिएको हो । तर, जग्गा बेच्ने व्यक्तिको नाम गोप्य राखिएको छ । गुन्डुवासी केही स्थानीयको सहयोगमा जग्गा व्यवस्थापन भएको र घर निर्माण पनि स्थानीयकै सहयोगबाट बन्ने उनको दाबी छ । ‘अहिलेलाई जग्गा बेच्ने व्यक्तिको आग्रहलाई ख्याल गरेर नाम भनिएन, तर उहाँ गुन्डुवासी नै हुनुहुन्छ,’ बस्नेतले भने, ‘गुन्डुवासीकै व्यवस्थापन र सहयोगमा एक वर्षभित्र निर्माण गरेर घर हस्तान्तरण गर्छौँ, अन्त बाहिरका व्यक्ति कोही–कसैबाट पनि चन्दा सहयोगहरू नउठाई गुन्डुवासीका तर्फबाट उहाँको निवास बनाइदिन्छौँ ।’
जेन–जी आन्दोलनका क्रममा बालकोटस्थित निवासमा तोडफोड र आगजनी भएको थियो । सेनाको ब्यारेकमा बसेर फर्किएपछि ओली गुन्डुमा विष्णु श्रेष्ठको घरमा बस्दै आएका छन् । गुन्डुस्थित उनको आवास व्यवस्थापन, सुरक्षा र सम्पूर्ण समन्वय बस्नेतकै जिम्मामा छ ।
स्थानीय वातावरणप्रति आफू आकर्षित भएको ओलीले भेटघाटमा आउने नेता–कार्यकर्ता र सञ्चारकर्मीसँग बताउने गरेका छन् । ओलीले जेन–जी आन्दोलनमा जलेको भवन नबनाउने घोषणा गरेका थिए ।
यस्तोे हुनेछ ओली निवास
ओलीको अढाईतले निवास भक्तपुरको परम्परागत नेवारी सांस्कृतिक पहिचान र ग्रामीण परिवेश झल्किने गरी निर्माणको डिजाइन गरिएको छ । भवनको भुइँतलामा बैठक कक्ष, प्रतीक्षालय, पुस्तकालय, लिभिङ रुम र डाइनिङ कक्ष रहनेछन् । दोस्रो तलामा परिवारका लागि बेडरुम तथा विशिष्ट व्यक्तिहरूसँग भेटघाट कक्ष रहनेछ । तेस्रो तला पाहुनाका लागि कोठा, ओलीका लागि अध्ययन कक्ष तथा ‘ग्रिन रुम’का रूपमा उपयोग हुने गरी डिजाइन गरिएको छ । कौसीमा कौसीखेती गर्ने सुविधा समेटिएको छ । प्रारम्भिक डिजाइनअनुसार करिब एक करोड रुपैयाँ लागतमा घर निर्माण सम्पन्न हुने अनुमान गरिएको छ । ‘ओली कुटी निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको छ । आज (बिहीबार) राधिका आमाद्वारा शिलान्यास सम्पन्न भयो । अब निर्माण कार्य तीव्र गतिमा अघि बढ्नेछ !’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ।
तस्बिरहरू : एमाले नेता महेश बस्नेतको फेसबुकबाट